पोखरा । पोखरा महानगरपालिका–६, बैदामस्थित श्री ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी सर्वसम्मत रूपमा चयन भएका छन्। सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी तीन वर्षका लागि पहारीलाई अध्यक्षमा चयन गरेको हो।
नेपाल सरकारको शिक्षा ऐन तथा नियमावली अनुसार गठन गरिएको नौ सदस्यीय नयाँ समितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावक प्रतिनिधिमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर छन्। त्यस्तै, वडा शिक्षा समितिबाट गणेश पहारी, मनोनीत सदस्यमा हस्तबहादुर थापा तथा शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल चयन भएका छन्। समितिको गठनबारे विद्यालयका प्रधानाध्यापक तारा प्रसाद पोखरेलले जानकारी दिएका हुन्। नयाँ समिति पदस्थापन सोमबारकै दिन सम्पन्न भएको थियो।
नव–नियुक्त अध्यक्ष गोविन्दराज पहारी पश्चिमाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष तथा पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष समेत हुन्। पर्यटन व्यवसाय, सामाजिक सेवा तथा शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा उनी पहिचित छन्।
अध्यक्षमा सर्वसम्मत चयन भएपछि पहारीले विद्यालयको शैक्षिक गुणस्तर उकास्ने, आर्थिक तथा भौतिक पूर्वाधार सुदृढ गर्ने, विद्यार्थी संख्या बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडा नं–६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले नव–नियुक्त समितिलाई बधाई दिँदै गुणात्मक शिक्षा प्रवर्धनका लागि आफू तथा वडा कार्यालय सधैं सहयोग गर्न तयार रहेको बताए। उनले शिक्षा व्यक्तिलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने माध्यम भएको उल्लेख गरे।
प्रधानाध्यापक पोखरेलले नव–निर्वाचित समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त रहेको बताए।





Comments are closed.