काठमाडौं । नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयस्तरमा “सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम” तयार गरी लागू गर्ने विषयमा केन्द्रित एक दिने पोलिसी डायलग काठमाडौंमा सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा आयोजित यो बहस नेपालमा दिगो सडक तथा सुरक्षित यातायातको शैक्षिक संरचनामाथि भएको सम्भवतः पहिलोपटकको व्यापक छलफल मानिएको छ ।
कार्यक्रममा नेपालमा पाठ्यक्रम तर्जुमाको प्रक्रिया, दिगो विकास र यातायात सुरक्षा, संघीय–प्रदेश तथा स्थानीय सरकारहरूको भूमिका, शैक्षिक संस्थाहरूको दायित्व तथा सडक सुरक्षा शिक्षाको प्रभावकारितामाथि बहुआयामिक प्रस्तुतिहरू गरियो ।
यस कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका अधिकारीहरू, धुलिखेल, बुढानीलकण्ठ, कागेश्वरी मनोहरा तथा चाँगुनारायण नगरपालिकाका मेयर–उपमेयर, विश्वविद्यालयका प्राध्यापक, विद्यालय–कलेजका प्रिन्सिपल, पत्रकार, सडक दुर्घटनाका पीडित परिवार, विज्ञ तथा अधिकारकर्मीहरू गरी तीन दर्जनभन्दा बढी सहभागी उपस्थित थिए । हिसान, प्याप्सन, विद्यालय सञ्चालक, नेपाल प्रहरी, संसद सचिवालय, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी, नासा फाउन्डेसन, युथ फर रोड सेफ्टी नेपाल, साइकल कल्चर मुभमेण्ट र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरू समेत सहभागी रहे ।
कार्यक्रमका सहभागीहरूले नेपालमा सडक दुर्घटना मृत्युको प्रमुख कारण बनेकोले, जोखिम न्यूनीकरणका लागि विद्यालय तहदेखि नै अनिवार्य रुपमा सडक सुरक्षा शिक्षालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। हाल आंशिक रूपमा समावेश गरिएको विषयलाई परिमार्जन गरी व्यावहारिक तथा प्राविधिक तालिमसहित देशभरका शैक्षिक तहमा लागू गर्न आवश्यक रहेको धारणा राखियो ।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा आयोजित कार्यक्रममा सडक सुरक्षामा अनुसन्धानकर्ता तथा पीएचडी स्कलर भगवती सेडाई, पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक सरोज गिरी, युथ फर रोड सेफ्टी नेपालका किरण धिताल, नासा फाउन्डेसनका सुवास भट्टराई लगायतले विषयगत प्रस्तुति दिए ।
त्यस्तै, संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, सडक विभागका उपमहानिर्देशक ई. प्रभात कुमार झा, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापा, प्रा. डा. रोहित कुमार पोखरेल लगायतले सडक सुरक्षा सुधारमा शिक्षा, समन्वय र नीतिगत सक्रियताको आवश्यकता औंल्याए ।
सडक दुर्घटनाबाट प्रभावित पत्रकार रविन थपलिया, डा. तारालाल श्रेष्ठ, शिक्षिका मञ्जु चित्रकार, हिसानका उपाध्यक्ष रामहरी सिलवाल तथा अभियानकर्मी सरोज खनालले यस्तो प्रकारको नीतिगत बहस नेपालमा सडक सुरक्षाको लागि कोसेढुङ्गा सावित हुने धारणा राखे ।
कार्यक्रमका संयोजक तथा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले डा. भगवती सेडाई, मञ्जु चित्रकार र कमला क्षेत्रीसमेत रहेको एक कार्यदल गठन गरिएको जानकारी दिए। उक्त कार्यदलले विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा सडक सुरक्षा विषय समावेश गर्न द्राफ्ट तयारी, लबिङ तथा सहजीकरणको काम अघि बढाउनेछ ।
एफआइए सेफ एन्ड सस्टेनेबल मोबिलिटी ग्रान्ट प्रोग्राम तथा एफआइए फाउन्डेसनको सहयोगमा संचालन गरिएको ‘भ्वाइस अफ यूथ फर सेफ एण्ड सस्टेनेबल मोबिलिटि’ अभियानअन्तर्गत यो कार्यक्रम सम्पन्न भएको नासा नेपालले जनाएको छ ।




Comments are closed.