प्रतिभा माविमा ‘स्पोर्टस् फेस्ट २०८२’ सुरु

पोखरा । बुधबार प्रतिभा माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत स्पोर्टस् फेस्ट २०८२ को औपचारिक सुरुवात गरेको छ । दुई साता सञ्चालन हुने यस स्पोर्टस् फेस्टमा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले हरियो, रातो, पहेंलो र निलो गरी चार सदनमा विभाजन भएर विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लिनेछन् ।

कार्यक्रमको उद्घाटन प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले गरेका थिए । उनले खेलकुदले विद्यार्थीसँग सामूहिक भावना, स्वस्थ प्रतिस्पर्धा, नेतृत्व क्षमता र अनुशासन जस्ता महत्वपूर्ण विशेषताहरू विकसित गर्ने बताउँदै प्रतिभा माविले शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा गरेको निरन्तर प्रयासको प्रशंसा गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षामा देशकै अग्रणी संस्थाको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै खेलकुद तथा रचनात्मक गतिविधिमा पनि विद्यालय अग्रपंक्तिमा रहेको बताए । “खेलकुद स्वस्थ जीवनको आधार हो। यसले अनुशासन सिकाउँछ, अवसर दिन्छ, र विद्यार्थीभित्रको लुकेको क्षमता उजागर गर्छ,” पौडेलले भने ।

विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभा माविले शिक्षाको स्तरमा मात्र होइन, खेलकुदमा पनि उत्कृष्टता कायम राख्दै आएको उल्लेख गरे। उनका अनुसार विद्यालयले खेलकुदलाई स्वास्थ्य, विकास र आत्मविश्वाससँग जोडेर प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो। सह–प्राचार्य प्रदीप खनालले हाउस क्याप्टेनहरूलाई शपथ ग्रहण गराएका थिए । स्पोर्टस् फेस्ट अन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा कक्षागत दौडलगायतका खेल तथा सामूहिक प्रतिस्पर्धामा अन्तरसदनात्मक बास्केटबल, भलिबल, फुटबल, रिले दौडलगायतका प्रतियोगिता आयोजना हुने विद्यालयले जनाएको छ ।

विद्यार्थीका प्रतिभा पहिचान र मनोबल वृद्धि गर्न विद्यालयले निरन्तर रूपमा सहयोग गर्दै आएको छ । विद्यालयले सन्दिप लामिछाने, अरुणा शाही, ज्ञानेन्द्र मल्ललगायत चर्चित खेल प्रतिभालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरिसकेको छ । मानवीय विपद तथा सामाजिक सेवामा पनि विद्यालय सक्रिय रहँदै आएको छ। प्रतिभा मावि गुणस्तर मापन आइएसओ प्रमाणित विद्यालय पनि हो ।

You might also like

Comments are closed.