एभरेस्ट एफएमद्वारा शनिबार बृहद रक्तदान कार्यक्रम, प्रतिभा र ग्यालेक्सी माविमा सचेतना

पोखरा । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले आउँदो शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा हुने कार्यक्रम मंसिर ६ गते शनिबार बिहान ७ बजेदेखि १२ बजेसम्म पोखरा–५ प्रस्याङस्थित रेडियो प्राङ्गणमा सम्पन्न हुनेछ ।

रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ?’ भन्ने नारासहित रक्तदान अभियान सञ्चालन गरिरहेको छ। एफएमले रेडियो कार्यक्रममार्फत व्यापक सचेतना फैलाउँदै आएको छ भने विद्यालय र कलेजमा समेत सचेतनामूलक गतिविधि सञ्चालन गरेको छ। यही अभियानअन्तर्गत पोखरा–३ नदीपुरस्थित प्रतिभा मावि र ग्यालेक्सी माविमा कक्षा १२ का विद्यार्थीलाई रक्तदानको महत्व र फाइदाबारे विशेष अभिमुखीकरण गरिएको रेडियोले जनाएको छ ।

रक्तदानका लागि आवश्यक मापदण्डबारे जानकारी दिँदै एभरेस्ट मिडिया हाउसका प्रमुख/सम्पादक दीपेन्द्र श्रेष्ठले १७ वर्ष पुगेका, ६५ वर्ष ननाघेका, ४५ केजीभन्दा बढी तौल भएका, पछिल्लो रक्तदान गरेको ९० दिन पूरा भएकाहरूले रक्तदान गर्न सक्ने बताए । महिलामा मासिक धर्मको छैटौँ दिनपछि रक्तदान गर्न मिल्ने, र क्यान्सर, किड्नी प्रत्यारोपण वा मेजर अपरेसन गरेका व्यक्तिले भने रक्तदान गर्न नपाउने जानकारी उनले दिए ।

श्रेष्ठले शरीरमा रक्तकोशिका निरन्तर फेरिने भएकाले रक्तदान स्वास्थ्यका लागि सुरक्षित मात्र नभई तीन जनासम्मको ज्यान बचाउन सकिने महान् कार्य भएको बताए। “रक्तदान गर्नु भनेको आफू स्वस्थ भएको प्रमाणित गर्नु पनि हो, साथै आत्मसन्तुष्टि प्राप्त हुन्छ,” उनले भने ।

एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नारासहित कार्यक्रम हुन लागेको हो । कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गर्नेछ ।

कार्यक्रमका सहयोगी संस्थामध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्स, न आई.भी.एफ क्लिनिक महेन्द्रपुल, सिटिजन फर्निचर, आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल, तारा सुमन सप्लायर्स, एस एण्ड बी ट्रेडर्स, इम्पावर हेल्थ केयर, नेलम्बो नेपाल, पुन ग्रुप अफ पोल्ट्री इण्डस्ट्रीज, पिउरो मसल्स, तथा पञ्चरत्न आभूषणलगायत रहेका मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले जानकारी दिए ।

एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज तथा एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।

You might also like

Comments are closed.