काठमाडौं । काठमाडौं महानगर तथा आसपासका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसँगै आज नागार्जुन–५, स्वयम्भूस्थित युवा सहभागिता माध्यमिक विद्यालयका १३ विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिएको छ । बालबालिका वास्ता नेपाल, युनाइटेड इन्टरनेशनल पिस (युनिपुन) नेपाल च्याप्टर, रोटरी क्लब अफ कपन र युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठान र स्वयम्भू सर्जिकल आइ सेन्टरले प्राविधिक सहयोग प्रदान गरेका थिए ।
हालै विद्यालयमा सञ्चालन गरिएको निशुल्क आँखा परीक्षणपछि दृष्टि समस्या देखिएका विद्यार्थीहरूको अध्ययन–विश्लेषण गरिएपछि चिकित्सकीय सिफारिसअनुसार १३ जनालाई चस्मा उपलब्ध गराइएको आयोजक संस्थाले जनाएको छ । नियमित अध्ययनमा समस्या नआओस् भन्ने उद्देश्यले चस्मा वितरण गरिएको हो ।
कार्यक्रम बालबालिका वास्ता नेपालका अध्यक्ष मुकुन्द खनालको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका महासचिव तथा रोटरी क्लब अफ कपनका सचिव दीपक चन्द्र गौतम, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका सचिव हरि शरण मानन्धर तथा युनिपुन र रोटरी क्लब अफ कपनका सदस्य विष्णु प्रसाद अधिकारी उपस्थित थिए ।
आयोजक संस्थाहरूले काठमाडौं जिल्लाका ६ वटा नगरपालिकामा सामुदायिक तथा निजी विद्यालय, स्थानीय निकाय र समुदायसँगको सहकार्यमा पछिल्ला महिनादेखि नियमित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यी कार्यक्रमहरूमा आँखा परीक्षण, दन्त परीक्षण, मुटु स्वास्थ्य परीक्षण तथा सामान्य जनस्वास्थ्य परामर्शजस्ता सेवा प्रदान हुँदै आएका छन् ।
अभियानलाई निरन्तरता दिँदै शुक्रबार नागार्जुन नगरपालिका–५ अन्तर्गत गजुरमुखी विद्यालय र बेस्ट स्कूलका दृष्टि समस्या भएका विद्यार्थीहरूलाई पनि निशुल्क चस्मा वितरण गरिने युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका महासचिव तथा रोटरी क्लब अफ कपनका सचिव दीपक चन्द्र गौतमले जानकारी दिए । उनका अनुसार विद्यालयमै दृष्टि समस्या पहिचान गरी समयमै उपचार तथा चस्मा उपलब्ध गराउन सके अध्ययनमा पर्ने जोखिम न्यून हुने भएकाले कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।




Comments are closed.