पुष ३ गतेदेखि लेखनाथ महोत्सव, ९ करोड बराबरको कारोबार हुने अनुमान

लेखनाथ । लेखनाथ क्षेत्रको समग्र आर्थिक विकास र उद्योगी व्यवसायीको हकहित संरक्षण गर्ने मुख्य उद्देश्यका साथ स्थापित लेखनाथ उद्योग वाणिज्य संघले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मूल नाराका साथ २१औँ लेखनाथ महोत्सव–२०८२ आयोजना गर्ने भएको छ। महोत्सव २०८२ पुष ३ गतेदेखि १४ गतेसम्म पोखरा २७, डाडाँकोनाक, तालचोकमा सञ्चालन हुने आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विषम आर्थिक परिवेशका बाबजुद व्यवसायी र आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन तथा राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशील बनाउने आफ्नो दायित्व पूरा गर्न महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष जानुका अधिकारी पराजुलीले जानकारी दिइन् । यो महोत्सव स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुग्नुका साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता परिपूर्तिको संगम स्थल बन्ने अपेक्षा आयोजकको छ।

महोत्सवको प्रमुख उद्देश्य र आकर्षण

महोत्सवको मुख्य उद्देश्यमा स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुहरुको पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान र प्रविधि हस्तान्तरण तथा उद्यमशीलता विकास रहेका छन्। यसका साथै जातिय भेषभूषा, कला संस्कृति र रितिरिवाजको जर्गेना र पर्यटन प्रवर्द्धनमा समेत जोड दिइएको छ।

औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य वस्तु, फेन्सी, विद्युतीय उपकरण, फर्निचर तथा शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका उपकरणहरूको प्रदर्शनी, लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता र दुग्धजन्य उत्पादनहरूको बिक्री एवं प्रदर्शनी, जातजातिको रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली, महिला विशेष कार्यक्रम (रत्यौली), पप कन्सर्ट र लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट लोकदोहोरी तथा हास्यव्यङ्ग्य लगायतका कार्यक्रम महोत्सवको आकर्षण बन्ने विश्वास गरिएको छ ।

बिजनेस टक शो मार्फत विविध आर्थिक विषयमा छलफल गरिनेछ । शैक्षिक प्रदर्शनी, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रवर्द्धन सम्बन्धि टिकटक तथा कन्टेन्ट क्रिएटर प्रतियोगिता गरिनेछ । महोत्सवमा एशियाको ज्योतिको रूपमा चिनिने गौतम बुद्धको प्रतिमा रहनेछ।

महोत्सवमा जम्मा ३३५ वटा स्टल रहनेछन्। तीमध्ये कृषि प्रदर्शनीका लागि ३४, गार्मेन्ट तथा रेडिमेटका लागि १२२, नेपाली उत्पादनका लागि १२, र खाना महोत्सवका लागि १५ वटा स्टल छुट्याइएको संघका द्वितीय उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

स्टल बुकिङ संघका सदस्यहरूका लागि मंसिर ८ गतेदेखि र अन्य व्यवसायीहरूका लागि मंसिर १५ गतेदेखि खुल्ला गरिनेछ। संघका सदस्यहरूलाई स्टल भाडामा २० प्रतिशत र ढुवानीका लागि थप दुई हजार रूपैयाँ छुटको व्यवस्था गरिएको महासचिव भरतराज ओझा जानकारी दिए ।

२ लाख ५० हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अनुमानित आर्थिक कारोवार ९ करोड रूपैयाँ, अनुमानित आम्दानी ९५ लाख रूपैयाँ, अनुमानित खर्च ८५ लाख रूपैयाँ र अनुमानित बचत १० लाख रूपैयाँ अनुमान गरिएको छ । महोत्सवको मुख्य प्रायोजकमा गृहलक्ष्मी ग्यास रहेको छ ।

You might also like

Comments are closed.