होटल संघ पोखरा र एनआरएलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

पोखरा । होटल संघ पोखरा नेपाल र नेशनल रेफरेन्स ल्याब (एनआरएल) बीच प्रयोगशाला परीक्षण सेवामा छुट प्रदान गर्ने सहमति भएको छ । आइतबार गरिएको उक्त सम्झौता अनुसार एनआरएलले संघका पदाधिकारी, साधारण सदस्य तथा उनीहरूका परिवारका लागि रगत तथा पिसाबसम्बन्धी विभिन्न परीक्षणमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

सम्झौतापत्रमा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी र एनआरएल पोखरा नयाँ सडककी मार्केटिङ प्रमुख समिता आचार्यले हस्ताक्षर गरेका हुन् । अध्यक्ष सुवेदीका अनुसार यो सम्झौता संघ सदस्य तथा तिनको परिवारका लागि मात्र नभई संघअन्तर्गत रहेका होटलका कर्मचारीहरूका लागि पनि लाभदायी हुनेछ । कर्मचारीहरूले २० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

यस्तै, होटल संघ परिवारको सिफारिसमा आउने अन्य सेवाग्राहीले ५ देखि ७ प्रतिशतसम्म छुट पाउनेछन् । पोखरामा उपलब्ध नभई बाहिर पठाइनुपर्ने विशेष प्रकारका नमूना परीक्षणमा भने १५ प्रतिशत छुट लागू हुने उल्लेख छ ।

१२ वर्षअघि पोखरामा सेवा विस्तार गरेको एनआरएलले गुणस्तरीय प्रयोगशाला परीक्षणलाई निरन्तर प्राथमिकतामा राख्दै आएको मार्केटिङ प्रमुख आचार्यले जानकारी दिइन्।

You might also like

Comments are closed.