इलाम । हालै इलाममा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित घरपरिवारहरूलाई मेटलाइफ नेपालले सुरक्षित पानी भण्डारणका लागि ५०० लिटर क्षमताका पानी जलाशय ट्याङ्की वितरण गरेको छ। उक्त सहयोग स्थानीय गैरसरकारी संस्था सुनगाभा विकास संस्थासँगको सहकार्यमा गरिएको हो ।
२०७२ असोज १८ र १९ गतेको अविरल वर्षाले इलाम जिल्लाभर ठूलो भौतिक क्षति पुर्याएको थियो । पुल बग्ने, घर धसिने तथा सेवासुविधा अवरुद्ध हुनेजस्ता घटनाले स्थानीय बासिन्दालाई दैनिकी चलाउन कठिनाइ भएको थियो। विशेषगरी, धेरै विस्थापित परिवार सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित भएका थिए ।
यसै आवश्यकतालाई ध्यानमा राखी मेटलाइफ नेपालले सुनगाभासँग हातेमालो गर्दै सबैभन्दा प्रभावित दुर्गम बस्तीका परिवारहरूलाई टिकाउ पानी ट्याङ्की वितरण थालेको हो । ३३८ विस्थापित परिवारमध्ये ८० भन्दा बढी परिवारलाई अहिले सुरक्षित पानी भण्डारणको सुविधा उपलब्ध हुनेछ, जसले उनीहरूको सरसफाइ तथा दैनिक आवश्यकतामा सहयोग पुर्याउनेछ ।
वितरण प्रक्रिया स्थानीय वडा कार्यालय, विपद् प्रतिक्रिया समिति तथा सुनगाभाका प्राविधिक टोलीको समन्वयमा पारदर्शी रूपमा सञ्चालन भइरहेको छ। स्वयंसेवकहरूले वितरण, कागजात व्यवस्थापन तथा अनुगमन कार्यसमेत गरिरहेका छन् ।
यस पहलबारे मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “स्वच्छ पानीमा पहुँच केवल बाँच्नको कुरा मात्र होइन, यो मर्यादा र आशासँग सम्बन्धित छ। इलामका परिवारहरूलाई जीवन पुनर्निर्माण गर्न मद्दत गर्न पाउँदा हामी आभारी छौँ।”
मेटलाइफ, विश्वका प्रमुख जीवन बीमा तथा वित्तीय सेवा प्रदायकमध्ये एक हो, जसले बीमा, एन्युटी, कर्मचारी लाभ तथा सम्पत्ति व्यवस्थापन सेवामार्फत विश्वभरका ग्राहकलाई सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याइरहेको छ । सन् १८६८ मा स्थापना भएको कम्पनी आज ४० भन्दा बढी बजारमा सक्रिय छ र अमेरिका, एशिया, मध्य–पूर्व, ल्याटिन अमेरिका तथा युरोपमा अग्रणी स्थानमा छ ।
मेटलाइफको सहायक कम्पनी अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रूपमा मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा जीवन बीमा, स्वास्थ्य तथा दुर्घटना बीमा र सामूहिक बीमा सेवा प्रदान गर्दै आएको छ ।
सुनगाभा विकास संस्था इलाममा आधारित एक सामुदायिक गैरसरकारी संस्था हो, जसले शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र पूर्वाधार निर्माणमा कार्य गर्दै आएको छ । संस्थाले विशेष रूपमा खानेपानी आपूर्ति प्रणाली, पानी ट्याङ्की निर्माण तथा झोलुङ्गे पुल विकासमा दक्षता राख्छ ।




Comments are closed.