पोखरामा ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला र १३ औं क्यान इन्फोटेक आयोजना

पोखरा  । पोखरा  उद्योग वाणिज्य संघले आगामी मंसिर १७ देखि २२ गते पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ आयोजना गर्न गइरहेको छ। मेलाको नारा यस वर्ष ‘लगानीको सम्वद्र्धनः उद्योग–व्यवसायको प्रवद्र्धन’ रहेको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्षले पत्रकारहरूसमक्ष बताए अनुसार, संघले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरमा रुपान्तरण गर्नका लागि संस्थागत मेला र महोत्सव आयोजना गर्ने परम्परा सुरु गरेको थियो। २०११ सालमा स्थापित संघले २०४२ सालमा पहिलो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो भने २०५२ सालमा पोखरा महोत्सव आयोजना गरिएको थियो ।

मेलाको सह आयोजक कम्प्युटर एसोसियसन नेपाल (क्यान) कास्की हो भने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयले समेत मेलाको प्रवर्तकको भूमिका निर्वाह गर्दै आएका छन् । मेलामा औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा उत्पादन र सेवाहरूको प्रदर्शनी तथा बिक्री हुने छ ।

संघले पोखरा प्रदर्शनी केन्द्रको व्यवस्थापन गर्दै मेलाको तयारी थालेको जनाएको छ । यस वर्ष प्रदर्शनी केन्द्रमा भइरहेको निर्माण कार्यका कारण मेलाको अवधि छोट्याइएको र स्टल संख्या सीमित राखिएको छ । तर, आगामी वर्ष प्रदर्शनी केन्द्र पूर्ण सञ्चालनमा आएपछि मेलाको अवधि र स्टल संख्या बढ्ने अपेक्षा गरिएको छ ।

मेलामा सांस्कृतिक कार्यक्रम, उद्यमशीलता प्रवद्र्धन, लगानी मैत्री नीति निर्माण, नवप्रवर्तन र कृषिसम्बन्धी परिसंवाद कार्यक्रम पनि समावेश गरिएको छ । प्रवेश निःशुल्क हुनेछ । मेलाबाट प्राप्त आम्दानी उद्यमशीलता प्रवद्र्धन र व्यवसायी क्षमतावृद्धिमा खर्च गरिने संघले जानकारी दिएको छ।पोखरा उद्योग वाणिज्य संघले मेलामा सहभागिता जनाउन आम जनता, व्यवसायी, कृषक र उद्यमीहरूलाई हार्दिक आग्रह गरेको छ ।

You might also like

Comments are closed.