नेपालगन्ज । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९/मंसिर २३) को अवसरमा आगामी मंसिर २३ गते आयोजित हुन लागेको पाँचौँ नेपालगन्ज वाकाथनको तयारीलाई तीव्रता दिइएको छ ।
भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने र नेपालगन्जको पहिचानलाई देश–विदेशमा थप स्थापित गराउने उद्देश्यले निरन्तर आयोजित हुँदै आएको यस वाकाथनलाई भव्य र प्रभावकारी बनाउन आयोजक संस्था बास नेपाल र व्यवस्थापन संस्था अन्तरालले तयारीलाई व्यापक बनाएको जनाएको छ ।
यसै क्रममा आज विभिन्न संघ–संस्था, निकाय तथा गैसस क्षेत्रमा कार्यरत प्रतिनिधिहरूसँग समन्वय बैठक सम्पन्न गरिएको छ । बैठकमा सहभागी गैससकर्मीहरूले सुशासन कमजोर भइरहेको अहिलेको परिस्थितिमा नेपालगन्जका सडकबाट बलियो सन्देश दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले भ्रष्टाचारविरुद्ध एकजुट भएर अभियानमा सहभागी हुने विशेष प्रतिवद्धता जनाए ।
‘भ्रष्टाचार विरुद्धका लागि सँगै हिँडौँ’ भन्ने नाराका साथ हुने यस वर्षको वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, पर्चा तथा पम्पलेट वितरणलगायतका गतिविधि रहने छन् । सहभागीहरूले नेपालको झण्डा र भ्रष्टाचारविरुद्धका सन्देश अंकित प्लेकार्डसहित शहरका विभिन्न सडकमार्गमा पदयात्रा गर्ने कार्यक्रम छ ।
बास नेपालले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न चरणमा सरोकारवालाहरूसँग भेटघाट र छलफलको श्रृंखला सञ्चालन गरिरहेको जनाएको छ ।
सन् २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट पारित भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको स्मरणार्थ मनाइने यस दिवसलाई लक्षित गर्दै बास नेपालले २०७८ सालदेखि पश्चिम नेपालमा नियमित रूपमा नेपालगन्ज वाकाथन आयोजना गर्दै आएको छ ।




Comments are closed.