पुस ३ देखि सञ्चालन हुने लेखनाथ महोत्सवको तयारी तिब्र, सुरक्षा निकायको साथ रहने

लेखनाथ । आगामी पुस ३ गतेदेखि १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गइरहेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तिब्र बनाइएको छ । यसै क्रममा महोत्सव सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायका प्रतिनिधिसँग छलफल भएको छ । उनीहरुले आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता जनाएका छन् ।

सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्ध्रादेवी शर्माले महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव अझै उत्कृष्ट होओस भन्ने शुभकामना व्यक्त गर्दै प्रभावकारी सुरक्षाको प्रत्याभुति गराएर महोत्सवलाई सफल बनाउन आफ्नो पुर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले महोत्सवको सुरक्षाका लागि समन्वय गर्न र मिलेर काम गर्न तत्पर रहेको वताउँदै त्यसबाहेक पनि विभिन्न संवेदनशील सूचनाहरुको आदान प्रदान, स्वयंसेवकहरुको परिचालन, सिसिटिभि एवं पार्किङको व्यवस्थापन, मदिराजन्य पदार्थको बिक्री वितरण लगायतका कुराहरुमा आयोजक पक्षले पनि ध्यान पुर्याउनुपर्ने सुझाव व्यक्त गरे ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी प्रहरी उपरीक्षक दान ब. थापाले लेखनाथ महोत्सवले २१ औं संस्करणसम्म आइपुग्दा अत्यन्तै सफलताको उचाई हासिल गरिसकेको आफूले पाएको बताउँदै अबका दिनमा गुणात्मकतामा कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने वताएका थिए ।

संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीहरुको मनोबल समेत गिरेको अहिलेको विषम परिस्थितिमा सुस्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान गराउन मेला महोत्सवको आयोजना गर्नु आफैंमा चुनौतिपूर्ण रहेको बताइन् । ‘सबैको साथले महोत्सव भव्य र सभ्य बन्नेमा हामी विश्वस्त छौं,’ उनले भनिन् । उनले लेखनाथ महोत्सवलाई सफल बनाउन विगतदेखि नै सुरक्षा निकायहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत उस्तै साथ सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, सशस्त्र प्रहरी कालिका गणका प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमल्सेना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उपअनुसन्धान निर्देशक प्रहरी उपरीक्षक मोहन बहादुर कुँवर, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्षहरु, महोत्सवका विभिन्न उपसमितिका संयोजक लगायतको उपस्थिति थियो ।

संघका महासचिव भरतराज ओझाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.