वन विज्ञान अध्ययन संस्थान पोखरामा ‘हल्ट प्राइज’ प्रतियोगिता हुने

पोखरा । पोखरास्थित वन विज्ञान अध्ययन संस्थान (इन्स्टिच्युट अफ फरेस्टी) मा ‘हल्ट प्राइज’ प्रतियोगिता हुने भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । आगामी फागुनमा ग्राण्ड फिलानी हुने प्रतियोगिताको तयारी तिब्र बनाइएको हल्ट प्राइज प्रतियोगिताका क्याम्पस डाइरेक्टर आशिष पोख्रेलले जानकारी दिए ।

वन विज्ञान अध्ययन संस्थानमा आयोजना हुने ‘अनक्याम्पस प्रतियोगिता’ले विद्यार्थीमाझ उत्साह थप्न सफल भएको उनले बताए । विद्यार्थीको उद्यमशीलता र सामाजिक समस्या समाधान गर्ने नवीन सोचलाई प्रवद्र्धन गर्ने प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका डेपुटी क्याम्पस डाइरेक्टर प्राप्ति लम्सालले जानकारी दिइन् । ‘यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिन्छ र बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा भाग लिने अवसर पाउँछन्,’ उनले भनिन् ।

विगतका वर्षहरुमा यो प्रतियोगिता क्षेत्रीय स्तर सीमित रहेकोमा गत वर्ष यसले राष्ट्रिय स्तरको स्वरुप लिएको थियो । काठमाडौंमा आयोजित उक्त राष्ट्रिय प्रतिस्पर्धामा नेपालका सम्पूर्ण अनक्याम्पस विजेता टिमहरुले प्रतिस्पर्धा गरेका थिए । वन विज्ञान अध्ययन संस्थानबाट गत वर्षको अनक्याम्पस प्रतिस्पर्धामा पहिलो रनर-अप बनेको टिम ‘प्रयुजा’ले ‘वाइल्ड कार्ड एन्ट्री’ मार्फत राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएको थियो । टिम प्रयुजाका सदस्यहरूमा प्राप्ति लम्साल, आयुष्मा कार्की र जागृती लामिछाने थिए ।

यस वर्ष प्रतियोगिताको आयोजनाका लागि वन विज्ञान अध्ययन संस्थानमा १३ सदस्यीय आयोजिक टिम बनाइएको पब्लिक रिलेसन अफिसर जागृती लामिछानेले जानकारी दिइन् । ‘विद्यार्थीको क्षमता अभिबृद्धि गर्नका लागि प्रतियोगिता फलदायी हुँदै आइरहेको छ र यो वर्ष प्रतियोगिताले अझै बृहत्तर आकार लिनेमा हामी विश्वस्त छौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.