सोलु हाइड्रोपावरको आईपीओमा आज अन्तिम दिन

काठमाडौं ।  सोलु हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि खुला गरिएको साधारण शेयर (आईपीओ) आवेदन दिने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ७ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी आईपीओ निष्काशन प्रारम्भ गरेको थियो ।

कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि छुट्याइएको छ ।

यसमा आयोजनाका अति प्रभावित क्षेत्र   सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयलाई ४० लाख कित्ता (४०%) र ती वडाबाहेकका अन्य प्रभावित स्थानीयलाई ६० लाख कित्ता (६०%) शेयर वितरण हुने व्यवस्था गरिएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मको आवेदन दिन सकिनेछ। कम्पनीको इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट प्राप्त IRN Double B रेटिङले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

सोलु हाइड्रोपावरले विकास गरिरहेको ८२ मेगावाट क्षमता भएको तल्लो सोलु जलविद्युत आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ पर्ने देखिएको छ। आयोजनाको विद्युत अनुमतिपत्र अझै २५ वर्ष बाँकी छ ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.६८ वर्ष र डिस्काउण्टेड पेब्याक अवधि १२.०९ वर्ष अनुमान गरिएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आवेदन ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट दिन सक्नेछन् । आवेदन फाराम बुझाउँदा २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

आज अन्तिम दिन भएकाले प्रभावित क्षेत्रका स्थानीयहरूमध्ये ठूलो संख्याले आवेदन प्रक्रिया पूरा गरिरहेका छन् ।

You might also like

Comments are closed.