काठमाडौं । एनसेलले आम उपभोक्ताको सहजता र बढ्दो मागलाई मध्यनजर गर्दै नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर वितरण आजदेखिऔपचारिक रूपमा सुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमै एनसेललाई यो नयाँ नम्बर रेन्ज वितरणका लागि अनुमति प्रदान गरेको थियो, र आवश्यक तयारी पूरा भएपछि कम्पनीले नयाँ नम्बर बजारमा ल्याएको हो ।
यो नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (National Numbering Allocation Plan) अनुसार प्रदान गरिएको हो । प्राधिकरणले एनसेललाई यसअघि उपलब्ध गराइएका नम्बर रेन्ज—९८०, ९८१, ९८२ र ९७०—मार्फत प्रदान भइरहेको मोबाइल सेवामा नम्बर अभाव देखिएपछि नयाँ रेन्ज स्वीकृत गरेको जानकारी दिएको छ ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तका अनुसार नयाँ नम्बर रेन्जले उपभोक्तालाई मात्र नभई डिजिटल सेवा प्रदायकहरूलाई पनि सुविधा पुर्याउने छ । “मोबाइलमार्फत हुने डिजिटल कारोबार, ओटीपी सेवा, अनलाइन बैंकिङ, एप–आधारित सुविधाहरू सबै विस्तार हुँदै गएको अवस्थामा नयाँ नम्बर रेन्जले संचार सेवालाई थप सहज र प्रभावकारी बनाउनेछ,” उनले बताए ।
नयाँ नम्बर वितरणसँगै एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मोबाइल नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने सरकारी तथा गैर–सरकारी संस्था, बैंक तथा वित्तीय संस्था, डिजिटल सेवा प्रदायक कम्पनीहरूलाई ९७१ नम्बर रेन्ज आफ्ना प्रणालीमा छिटोभन्दा छिटो इन्टिग्रेट/अपडेट गर्न आग्रह गरेको छ । सेवाग्राहीलाई चुस्त र निरन्तर सेवा उपलब्ध गराउन यो अनिवार्य भएको कम्पनीले जनाएको छ ।
सञ्चार सेवा मात्र नभई ओटीपी प्राप्ति, अनलाइन दर्ता, मोबाइल एप तथा वेब–आधारित सेवामा पहुँच, डिजिटल कारोबारलगायतका अधिकांश सेवाका लागि मोबाइल नम्बर अपरिहार्य बनिसकेको वर्तमान अवस्थामा नयाँ नम्बर रेन्जको सुरुवातले नेपाललाई डिजिटल भविष्यतर्फ अघि बढाउन मद्दत गर्ने एनसेलको विश्वास छ ।




Comments are closed.