सम्पदाबाट सामाजिक जागरण: पाटन दरबार स्क्वायरमा लैङ्गिक हिंसाविरुद्ध आवाज

काठमाडौँ । कला र संस्कृतिले भरिपूर्ण ललितपुरको ऐतिहासिक पाटन दरबार स्क्वायर एक फरक सन्देशले गुञ्जायमान भयो । परम्परागत नेवारी धिमे बाजाको तालमा आधुनिक चेतनाका नाराहरू मिसाउँदै लैङ्गिक हिंसा अन्त्यका लागि एक जीवन्त प्रदर्शन आयोजना गरियो ।

परिवर्तनको लागि सहकार्य नेपाल(क्यान) द्वारा आयोजित कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन समारोह थियो । जसले प्राचीन सम्पदालाई सामाजिक जागरणको मञ्चमा रूपान्तरण गर्‍यो ।

‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं’ भन्ने मूल नारा बोकेका सहभागीहरूले मल्लकालीन वास्तुकलाको पृष्ठभूमिमा र्‍याली प्रदर्शन गरे । उनीहरूका हातमा रहेका प्लेकार्डहरूले डिजिटल युगमा महिलाहरूले भोग्नुपरेका नयाँ चुनौतीहरूलाई उजागर गरेका थिए।

दरबार क्षेत्रको ढुङ्गे पाटीमा प्रस्तुत गरिएको ‘हामी सक्छौँ’ नामक सडक नाटकले प्रविधिको दुरुपयोगबाट हुने हिंसाको पीडालाई मार्मिक रूपमा प्रस्तुत गर्दा उपस्थित दर्शकहरू भावुक बने। यो दृश्य सांस्कृतिक सम्पदा र आधुनिक सामाजिक मुद्दाबीचको एक शक्तिशाली संगम थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनको लागि सहकार्य नेपाल(क्यान)की कार्यक्रम निर्देशक एवं संस्थापक अध्यक्ष इन्द्र घलेले पुर्खाहरूले जसरी अनुपम कलाकृति सिर्जना गरे वर्तमान पुस्ताले न्यायपूर्ण र मर्यादित समाज निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

उनले ऐतिहासिक थलोबाटै हिंसाको अन्त्यको प्रण गर्नुपर्ने बताउँदै डिजिटल हिंसाले पारेको मानसिक र सामाजिक असरको रोकथामका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन् ।

त्यसैगरी ललितपुर महानगरपालिका, महिला विभागकी प्रमुख सरिता महर्जनले पाटनजस्तो सांस्कृतिक नगरीबाट अभियान चलाइनुले सकारात्मक परिवर्तनको सन्देश विश्वभर फैलिने विश्वास व्यक्त गरिन् ।

राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष श्याम कुमारी सि‌‌हले घर र समाजको व्यवहारले नै हिंसाको जग बसाल्ने हुँदा परिवर्तनको सुरुवात आफैँबाट र आफ्नै घरबाट हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा ‘मेरो शरीर मेरो अधिकार’ जस्ता चेतनामूलक गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएका थिए । जसले पाटनको ऐतिहासिक प्राङ्गणमा समानता र आत्मसम्मानको ऊर्जा थपेको सहभागी भएको सयौंको संख्यामा युवा, अधिकारकर्मी र स्थानीयवासी यो ऐतिहासिक स्थलमा केवल विगतको गौरव मात्र होइन, उज्ज्वल र न्यायपूर्ण भविष्यको संकल्प पनि देख्न सकिन्छ भन्ने सन्देश दिएका थिए ।

You might also like

Comments are closed.