काठमाडौं । नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको प्रतिनिधिमण्डलले नेपालका लागि म्यानमारका नवनियुक्त राजदूत थान्त सिनलाई स्वागत गरेको छ । चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले नेतृत्व गरेको प्रतिनिधि मण्डलले सोमबार भैंसेपाटीस्थित दूतावासमा राजदूतसँग स्वागत भेट गरेको हो ।
सो अवसरमा अध्यक्ष अग्रवालले नेपाल र म्यानमारबीच सांस्कृतिक, धार्मिक र जनस्तरीय सम्बन्धको लामो इतिहास भए पनि आर्थिक र व्यापारिक सम्बन्ध सीमित रहेको भन्दै उपलब्ध सम्भावना लाभ लिने गरी अघि बढ्नुपर्ने बताए । दुई मुलुकबीच पर्यटक आदानप्रदानको ठूलो सम्भावना रहेको भन्दै उनले यसको लागि नेपाल र म्यानमारबीच सीधा उडान शुरु गर्नेतर्फ दूतावासले पहल गर्नुपर्नेमा जोड दिए । अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको परिप्रेक्ष्यमा भैरहवा–म्यानमार सिधा उडान दुवै मुलुकका वायुसेवा कम्पनीहरुका लागि लाभदायी हुन सक्ने औंल्याए ।
अतिथिसत्कार सेवा, सूचना प्रविधि र सांस्कृतिक क्षेत्रमा संयुक्त लगानीको अवसर रहेको पनि उनले बताए । यसको लागि म्यानमार र नेपालबीच व्यापारिक प्रतिनिधि मण्डल आदान प्रदान गर्न चेम्बर तयार रहेको भन्दै त्यसमा सघाउन अध्यक्ष अग्रवालले राजदूत सिनलाई आग्रह गरे ।
त्यस्तै, राजदूत सिनले आफू दुई मुलुकबीचको आर्थिक र व्यापारिक सम्बन्धका साथै ऐतिहासिक सुमधुर सम्बन्धलाई अझ बलियो बनाउनमै केन्द्रित रहने बताए ।
प्रतिनिधि मण्डलमा चेम्बरका तर्फबाट अध्यक्ष अग्रवाल, विष्णुकुमार जोशी, ऋषिराज मोर, गोरे शेर्पा, राज लामा, मोहनवीर थापा, अमृत खड्का, निर्मल पौडेल, केएन मोदी र कुमार खतिवडा सहभागी थिए ।





Comments are closed.