lcci festival

होटल संघको ४३ औं साधारण सभा सम्पन्न

पोखरा । होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरे । संघ कसरी स्थापना भयो भन्ने विषय स्मरण गर्दै तुलाचनले व्यवसायिक हकहितमा संघ निरन्तर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा २४ घण्टा खुल्ला भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको बताए । रात्रीकालिन व्यवसाय २४ घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातक सिद्ध हुन पुगेको उनको भनाई थियो । ‘विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीले मात्र २४ घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था हो,’ उनले थपे, तर यहाँ सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको छ ।

पोखरा रातभरि खुल्ला भन्ने भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति दुई बजे पनि खाना अर्डर गर्ने गर्दा व्यवसायीले दुःख पाएको अध्यक्ष सुवेदीले गुनासो गरे । तीन सिफ्टमा हामी कर्मचारी व्यवस्था गरेर रातभरि सेवा दिन सक्ने अवस्था छै्रन, उनले भने, पर्यटकहरु रातभरि खुल्ला भनेको होइन, भनेर गुनासो गर्नुहुन्छ । २४ घण्टा पोखरा खोल्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ जस्तो गरी उ बेला प्रचार गरिए पनि अहिले त्यस्तो केही नभएको उनले बताए ।

कार्यक्रममा सुवेदीले पोखरा र सिंगो नेपालको प्रवद्र्धनका लागि जाउँ है पोखरा, चलिए पोखरा र पोखरा:  प्युर एण्ड पर्फेक्ट जस्ता अभियान संघले संचालन गर्दै आएको स्मरण गराए । यस्तो प्रवद्र्धनका कारण पोखरा आउने तीन प्रतिशत नेपाली पर्यटकको दर अहिले ४० प्रतिशत पुगेको तथ्यांक अध्यक्ष सुवेदीले सुनाए । भाइटिका महोत्सव जस्ता कार्यक्रमलाई पनि निरन्तरा दिइएको उनले सम्झाए । पोखराबाट विभिन्न देशसम्म सिधा हवाई उडान संचालनका लागि कतिपय देशका राजदूतसँग संघले छलफल गरेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए ।

अर्को प्रसंगमा बोल्दै सुवेदीले २५ बेड भन्दा माथिका होटललाई वातावरणीय प्रभाव मुल्यांकनको अनिवार्य व्यस्था गरेर सरकारले व्यवसायीलाई दुःख दिएको गुनासो गरे । साना होटलले यस्तो व्यवस्था कार्यान्वयन गर्न गाह्रो भएको भन्दै यस्तो नियम अव्यवहारिक हुँदा थुप्रै होटलहरु नविकरण हुन नसकेको उनले बताए ।

कार्यक्रममा संघका सचिव पार्वती पाण्डेले संघका भावि कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । संघका कोषाध्यक्ष नेत्र प्रसाद पौडेल (रमेश) ले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विशाल ग्रुपका तरुण अग्रवालले पनि कम्पनीले विक्रीवितरण गर्दै आएका विद्युतीय सवारीबारे जानकारी गराएका थिए ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दिपक श्रेष्ठले उपस्थिति सबैलाई धन्यवाद दिए । सो अवसरमा होटल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालविच पोखरालाई दिगो पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सहयोग पुर्याउने उद्देश्यले एक सम्झौता पनि गरिएको थियो । यसमा दिगो परियोजना स्वीसकन्ट्याक्ट नेपालको प्राविधिक सहयोग रहने जनाइएको छ ।

You might also like

Comments are closed.