lcci festival

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदै

काठमाडौं । इन्टेरियर, फर्निचर तथा काष्ठ उद्योग क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ को दशौँ संस्करण आगामी पुष ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा हुने यस प्रदर्शनी शुक्रबारदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

प्रदर्शनीमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त १०० भन्दा बढी ब्रान्डका स्टलहरू रहने छन् । फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसम्बन्धी सामग्रीहरूको व्यापक प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

गत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय प्रदर्शनी काठ तथा फर्निचर व्यवसायसँग सम्बन्धित उद्योगी, व्यवसायी र प्राविधिकका लागि नयाँ प्रविधि, अत्याधुनिक मेसिनरी र नविन उत्पादनबारे जानकारी लिने महत्वपूर्ण प्लेटफर्म बन्दै आएको छ ।
यस वर्षको एघारौँ संस्करणमा विश्वभर ख्याती प्राप्त कम्पनी तथा ब्रान्डका आधुनिक उपकरण र प्रविधि नेपाली बजारमा भित्र्याउने उद्देश्य लिइएको छ, जसले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो उत्पादन प्रणाली उन्नयन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रदर्शनी सफल बनाउन नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसियेशन नेपाल सहयोगी संस्थाको रूपमा रहेका छन् । प्रदर्शनी अवधिभर इन्टेरियर डिजाइनर एसोसियेशन नेपालका विज्ञहरूद्वारा इन्टेरियर डिजाइन, फर्निचर, नविनतम प्रविधि लगायत विषयमा दुईदिने सेमिनार तथा गोष्ठी कार्यक्रम पनि आयोजना गरिनेछ ।

यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रको विकास, आधुनिकीकरण र प्रविधि हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । प्रदर्शनीमा घर निर्माण गर्न चाहने सर्वसाधारणदेखि नेपालका अग्रणी आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।

नेपालमा सफलतापूर्वक प्रयोगमा ल्याउन सकिने विदेशी प्रविधि र उपकरणहरूलाई सहज रूपमा उपलब्ध गराउने माध्यमका रूपमा यस प्रदर्शनीले काष्ठ उद्योग तथा सम्बन्धित उत्पादन क्षेत्रलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.