राधिका ढकाल
स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवद्र्धन, सांस्कृतिक विविधताको संरक्षण र क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना हुँदै आएको लेखनाथ महोत्सव आज केवल वार्षिक उत्सवमा सीमित छैन । यो लेखनाथ क्षेत्रको पहिचान निर्माण, आर्थिक आत्मनिर्भरता र भविष्यका सम्भावनालाई व्यवहारसँग जोड्ने साझा मञ्चका रूपमा स्थापित हुँदै आएको छ । यही उद्देश्यका साथ २१औँ संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । पोखराको पूर्वी भेग लेखनाथस्थित पोखरा महानगरपालिका–२७, तालचोकमा भएको महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

लेखनाथ उद्योग वाणिज्य संघ, पोखराको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालन हुने महोत्सवलाई उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सहआयोजना गर्दैछन् । आयोजकका अनुसार वर्तमान सुस्त आर्थिक अवस्था, घट्दो उपभोक्ता मनोबल र व्यापारिक अनिश्चितताबीच पनि स्थानीय उत्पादन, व्यापार, पर्यटन र रोजगारी सिर्जनामा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो ।
संघकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालमा सानो स्तरबाट सुरु गरेको सुन्तला प्रदर्शनी नै आजको लेखनाथ महोत्सवको आधार हो । समय र आवश्यकताअनुसार महोत्सवलाई परिष्कृत गर्दै २०६१ सालदेखि निरन्तर वार्षिक रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम आज लेखनाथ क्षेत्रको पहिचानसँग जोडिएको छ । उनका अनुसार महोत्सवको मूल उद्देश्य विभिन्न जात–जाति, भाषा–भाषी र संस्कृतिलाई एउटै थलोमा उपस्थित गराई लेखनाथको समग्र सामाजिक, सांस्कृतिक र आर्थिक परिचय स्थापित गर्नु हो । महोत्सवमार्फत यस क्षेत्रमा उत्पादित कृषि तथा औद्योगिक वस्तुको बजारीकरण, महिला उद्यमीका उत्पादनको प्रदर्शनी तथा बिक्री, र स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म चिनाउने काम हुँदै आएको छ ।

लेखनाथ महोत्सव केवल व्यापारिक गतिविधिमा सीमित नरही दीर्घकालीन विकास दृष्टिकोणसँग जोडिएको कार्यक्रम बनेको संघको दाबी छ । अध्यक्ष अधिकारीका अनुसार संघले महोत्सवसँगै पञ्चभैया होमस्टे विकास, होमस्टेसम्म पुग्ने बाटो सुधार, सूचना बोर्ड निर्माण, एग्रो–टुरिजम अवधारणाको प्रवद्र्धन, निजी क्षेत्रको हक–अधिकार संरक्षण र मालपोतसम्बन्धी सहयोगजस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको छ ।
आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गर्दै सडक, पार्किङ, साइनेज, भ्यू–टावर निर्माण र ताल संरक्षणमा थप पहल गर्ने योजना संघको रहेको छ । “महोत्सव केवल किनमेल र मनोरञ्जनको कार्यक्रम होइन, यो लेखनाथको दीर्घकालीन विकासको साझा मञ्च हो,” अध्यक्ष अधिकारीको भनाइ छ ।
महोत्सवका प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले वर्तमान विषम आर्थिक परिस्थितिमा मेला–महोत्सव आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण भए पनि यस्ता कार्यक्रमले बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गर्ने बताए । खस्कँदो बजार, कमजोर उपभोक्ता विश्वास र सुस्त अर्थतन्त्रबीच लेखनाथ महोत्सवले क्रेता, विक्रेता र उपभोक्ताबीचको अन्तरसम्बन्ध मजबुत बनाउने, आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरिएको छ । “लेखनाथ महोत्सव आवश्यकता र परिपूर्तिको संगम स्थल हो,” भट्टराईले भने, “जहाँ स्थानीय उत्पादनले प्रत्यक्ष रूपमा उपभोक्तासँग भेट पाउँछ ।” महोत्सवमा करिब ३३५ वटा स्टल रहनेछन् । औद्योगिक तथा व्यापार मेला, हस्तकलाका सामग्री, दैनिक उपभोग्य तथा खाद्यान्न वस्तु, फेन्सी तथा कस्मेटिक सामग्री, विद्युतीय उपकरण, फर्निचर, भान्सामा प्रयोग हुने सामग्री, शिक्षा, स्वास्थ्य र खेलकुद सामग्री, सूचना प्रविधि तथा सञ्चार उपकरणको प्रदर्शनी रहनेछ ।

यसका साथै लेखनाथ क्षेत्रमा उत्पादन हुने सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक उत्पादन र दुग्धजन्य वस्तुहरूको विशेष प्रदर्शनी तथा बिक्री महोत्सवको मुख्य आकर्षण रहनेछ । फुड फेस्टिवल तथा वित्तीय र सेवा–मूलक संस्थाको जानकारीमुलक स्टलले महोत्सवलाई थप बहुआयामिक बनाउने अपेक्षा गरिएको छ । यस वर्ष पनि महोत्सवमा एशियाका ज्योति गौतम बुद्धको प्रतिमासहितको पर्यटन प्रवद्र्धन कार्यक्रम, बिजनेस टक शो र मोटिभेसनल स्पिच आयोजना गरिनेछ । जात–जातिको रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी ¥याली, महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत, शैक्षिक प्रदर्शनी र विद्यालयस्तरीय कार्यक्रमहरू समावेश छन् ।
युवा पुस्तालाई लक्षित गर्दै टिकटक तथा कन्टेन्ट क्रिएशन प्रतियोगिता, पप कन्सर्ट, लाइभ ब्याण्ड, राष्ट्रियस्तरका चर्चित कलाकारबाट लोकदोहोरी तथा हास्यव्यङ्ग्य स्टेज शो, बाल उद्यान, खाना महोत्सव र उत्कृष्ट स्टल पुरस्कार कार्यक्रमहरू महोत्सवका थप आकर्षण हुन् ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणको प्रवेश शुल्क रु. १००, विद्यार्थीका लागि रु. ५० र साँझको कन्सर्ट तथा सुगम संगीत कार्यक्रमका लागि रु. २०० तोकिएको छ। महोत्सवबाट हुने बचत रकम नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माण, पर्यटन प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले आर्थिक संकटको अवस्थामा स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई उत्प्रेरित गर्ने खालका कार्यक्रम महोत्सवमा प्राथमिकताका साथ समावेश गर्नुपर्ने बताएका छन् । मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनी प्रालिका महाप्रबन्धक भीमराज लामिछानेले महोत्सवसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै सुरक्षित ग्यास प्रयोगबारे जानकारी गराए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव सफल बनाउन १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति र ३०० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
आयोजकका अनुसार महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । करिब ९५ लाख रुपैयाँ आम्दानी, ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । लेखनाथको आर्थिक, सांस्कृतिक र पर्यटन विकासलाई नयाँ उचाइमा पु¥याउने विश्वासका साथ आयोजना हुन लागेको २१औँ लेखनाथ महोत्सव यस क्षेत्रको सम्भावना, पहिचान र भविष्यलाई एउटै थलोमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।






Comments are closed.