lcci festival

लेखनाथ महोत्सवमा यस्ता छन् आजका आकर्षण, कृषि बहस पनि हुने

काठमाडौं ।   “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ जारी २१औँ संस्करणको लेखनाथ महोत्सव आज पाँचौँ दिनमा प्रवेश गरेको छ । पुस ३ गतेदेखि सुरु भएको महोत्सवमा आज लोकदोहोरी तथा बेलुका साङ्गीतिक कार्यक्रम विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।

महोत्सवमा आजको टक सो मा कृषि बहज हुनेछ । बहसमा वरिष्ठ वाली संरक्षण अधिकृत शालिकराम अधिकारी, कृषि उद्यमी बाबुराम गिरी, यज्ञ प्रसाद आचार्य र सुरेन्द्रजंग पाण्डे सहभागि हुने छन् भने सहजिकरण पत्रकार सुरेन्द्र पौडेलले गर्नेछन् । बहसमा कृषि सम्वन्धी विभिन्न छलफल तथा अन्तक्रिया हुने छ ।

आजको मुख्य आकर्षणका रूपमा लोकदोहोरीतर्फ चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । लोकदोहोरी गायनमा सम्झना लामिछाने मगर, सुजिता नेपाली, गगन गुरुङ, सुदिप क्षेत्री, रामप्रसाद ढकाल र दुर्गा क्षेत्री ले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै, पुरुषोत्तम न्यौपानेको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।

यसैगरी, बेलुका हुने साङ्गीतिक कार्यक्रमतर्फ लोकप्रिय गायक सन्जीव सिंह राना, चर्चित गायिका समिक्षा अधिकारी तथा सुनिता न्यौपानेको साङ्गीतिक प्रस्तुति रहनेछ, जसले महोत्सवको माहोललाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवको आजको कार्यक्रममा वरिष्ठ उद्योगकर्मीतर्फ नेपालाणी बाँस्तोला र शिवहरी ढुंगानाको विशेष सहभागिता रहने छ । साथै, विद्यालयस्तरीय नृत्य, रत्यौली नृत्य तथा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरूले पनि दर्शकको ध्यान तान्ने आयोजकको भनाइ छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहेको छ ।

गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि. मुख्य प्रायोजक रहेको महोत्सवमा सह–प्रायोजकका रूपमा बिएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौडा डेरी रहेका छन् ।

महोत्सव अवलोकनका लागि विद्यार्थीका लागि ५० रुपैयाँ, साधारण प्रवेश शुल्क १०० रुपैयाँ र कन्सर्ट टिकट २०० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.