काठमाडौं । प्रतिष्ठित उद्योगी एवं समाजसेवी स्व. ओमप्रकाश गोयलको स्मृतिमा दश रुपैयाँको हुलाक टिकट सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभागको आयोजना तथा गोयल फाउन्डेशनको सहआयोजनामा मंगलबार साँझ राजधानीमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेलले स्व. गोयलको फोटो अंकित १० रुपैयाँको हुलाक टिकट सार्वजनिक गरेका हुन् ।
सो समारोहमा मन्त्री खरेलले स्व. गोयलले समाजका लागि पुर्याउनुभएको योगदानको स्मरण गर्दै भौतिक शरीर नरहेपनि उनको कर्मले स्व. गोयललाई अमर बनाएको बताए । “बाँच्नुको सार्थकता अरूलाई गर्ने सहयोगले पूर्ण गराउँछ । अरूका लागि बाँच्ने नै प्रतिष्ठित हुन्छ, अमर हुन्छ” मन्त्री खरेलले भने, “स्व. गोयलले अरुका लागि गर्नुभएको योगदानले नै उहाँ हुलाक टिकटमा टाँसिनुभएको छ । समाजका लागि गर्नुभएको कामले नै उहाँलाई अमर बनाएको छ ।”
समारोहको अध्यक्षता गरेकी हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनीले स्व. ओमप्रकाश गोयलले समाजका लागि गर्नुभएको योगदानको कदर गर्दै उहाँको नाम र फोटो अंकित हुलाक टिकट प्रयोगमा ल्याएको बताइन् । यस कार्यमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरिन् ।
सो अवसरमा गोयल फाउण्डेशनका अध्यक्ष कैलाशचन्द्र गोयलले आफ्ना पिता स्व. गोयलले समाज सेवामा गरेको योगदानका विषयमा चर्चा गर्दै संस्थापक स्वर्गीय ओम प्रकाश गोयलको ज्ञान, सीप र अनुभव एवं मार्गदर्शन अनुरुप गोयल ग्रुप अगाडि बढिरहेको बताए । उनले स्व. गोयल खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सधै सक्रिय रहने गरेकोे स्मरण गरे । विद्यालय भवन, गौशाला निर्माण, विभिन्न मठ–मन्दिरहरुको स्थापना, विभिन्न सामाजिक कार्यका लागि आवश्यक पर्ने भवन निर्माणमा स्व. गोयलले योगदान गरेको उनले जानकारी गराए । उनले आफ्ना स्व. बुवाले जीवनकालमा गर्नुभएको सेवाको सम्मान गर्दै उनको कार्यलाई स्थापित गराइदिने सरकार र हुलाक सेवा विभागप्रति गोयल परिवार सधैं ऋणी रहने बताए ।
सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, नेपाल फिलाटेलिक सोसाईटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ, गोयल फाउण्डेसनका महासचिव चिराग गोयल, हुलाक सेवा विभागका शाखा अधिकृतद्वय चन्द्रा थापा र पूर्ण कला लिम्बूले स्व. गोयलको सम्झना गर्दै मन्तव्य दिएका थिए ।





Comments are closed.