lcci festival

किसान, कृषि र उद्योग जोड्ने माध्यम दालमोठ

राधिका ढकाल

नेपालको खाद्यमा दालमोठ केवल स्न्याक्स मात्र होइन, किसानको खेतदेखि उद्योग, रोजगारी र राष्ट्रिय अर्थतन्त्रसम्म फैलिएको एउटा महत्वपूर्ण कृषि–आधारित उद्योगका रूपमा स्थापित खाद्य वस्तु हो । ग्रामीण भेगका किसानले उत्पादन गरेका बदाम, चना, केराउ, दाल, चामल, मकै, आलु, तेलहन र मसला जस्ता कृषि उपजलाई प्रशोधन गरी उपभोक्तासम्म पु¥याउने दालमोठ उद्योगले कृषि र उद्योगबीच सेतुको भूमिका निर्वाह गरिरहेको छ । देशभर सञ्चालनमा रहेका साना, मझौला र ठूला दालमोठ उद्योगहरूले स्थानीय कृषि उत्पादनको खपत बढाउँदै किसानलाई बजारसँग जोड्ने काम गरिरहेका छन् भने उत्पादन, प्रशोधन, प्याकेजिङ, ढुवानी र बिक्री वितरणसम्म हजारौँलाई रोजगारीसमेत दिइरहेका छन् । यसरी दालमोठ उद्योगले कृषि उत्पादनलाई मूल्य श्रृंखलासँग जोड्दै रोजगारी सिर्जना, आयात प्रतिस्थापन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पु¥याइरहेको देखिन्छ । तर यति धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट सरकारी नीति, सहुलियतपूर्ण कर्जा, कच्चा पदार्थ उत्पादनमा प्रोत्साहन र बजार संरक्षणको अभावमा यो उद्योग अपेक्षित गतिमा विस्तार हुन नसकेको उद्योगीहरूको गुनासो छ ।

नेपाल दालमोठ उत्पादक संघका अध्यक्ष तथा कृषि अभियन्ता हेमकान्त पराजुलीका अनुसार दालमोठ उद्योगलाई सामान्य खाद्य उद्योगका रूपमा हेर्ने परम्परागत दृष्टिकोण नै यसको विकासको सबैभन्दा ठूलो बाधक बनेको छ । “दालमोठ उद्योग केवल नास्ता उत्पादन गर्ने उद्योग होइन, यो किसान, कृषि र उद्योगलाई एउटै सूत्रमा बाँध्ने सशक्त माध्यम हो । दालमोठ उद्योगको विकास भनेको किसानको उत्पादनको सुनिश्चित बजार हो, जसले रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरतालाई पनि बलियो बनाउँछ”, उनले भने ।

संघमा आबद्ध उद्योगहरूले गुणस्तर, तौल र मूल्यमा पूर्ण जिम्मेवारी वहन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भई गुणस्तर परीक्षणपछि मात्र उत्पादन गरिरहेका छन् । उद्योगीहरूले म्याद मिति, लेबलिङ, सरसफाइ र स्वच्छ उत्पादन प्रक्रियालाई अनिवार्य रूपमा लागू गर्दै उपभोक्ताको स्वास्थ्यप्रति कुनै सम्झौता नगर्ने प्रतिबद्धता लिएका छन्, तर यस्ता प्रयासलाई राज्यले पर्याप्त रूपमा प्रोत्साहन गर्न नसकेको उनको भनाइ छ ।

नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य उत्पादनको बजार सुनिश्चित नहुँदा किसानले उचित मूल्य नपाउने समस्या दीर्घकालदेखि रहँदै आएको छ । उत्पादन लागत बढ्दै जाँदा पनि किसानले आफ्नो उत्पादन बेच्न सक्ने स्थायी बजार नपाउँदा खेतीप्रति आकर्षण घट्दै गएको छ । यही सन्दर्भमा दालमोठ उद्योगले किसानका उत्पादनलाई स्थायी र दीर्घकालीन बजार दिन सक्ने क्षमता राखेको उद्योगीहरूको दाबी छ । “यदि राज्यले स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने आयातित वस्तुहरूमा कडाइ ग¥यो भने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् र कृषि पेशा सम्मानजनक तथा दिगो बन्छ”, पराजुली भने । उनका अनुसार हाल दालमोठ उद्योगका लागि आवश्यक कच्चा पदार्थको ठूलो हिस्सा भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ, जसले उत्पादन लागत बढाएको छ । तर सरकारले बाँझो तथा खेतीयोग्य जमिन उद्योगी, किसान र संघबीच सहकार्यमा उपलब्ध गराएमा चना, बदाम, आलु, मकै र तेलहन नेपालमै उत्पादन गरी कच्चा पदार्थमा आत्मनिर्भर बन्न सकिन्छ ।

उद्योगीहरूले दालमोठ उद्योगले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती आयातित उत्पादनसँगको असमान प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यवृद्धि, विद्युत् र ढुवानी खर्च, सहुलियतपूर्ण कर्जाको अभाव र नीतिगत अस्पष्टतालाई मानेका छन् । दालमोठ उत्पादनका लागि मेसिनरी, भवन, कच्चा पदार्थ र दक्ष जनशक्तिमा लाखौँदेखि करोडौँ रुपैयाँसम्म लगानी आवश्यक पर्ने भए पनि उद्योगमैत्री वातावरण नहुँदा धेरै सम्भावित लगानीकर्ता पछि हटिरहेको उद्योगीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले कृषि–आधारित उद्योगलाई उच्च जोखिमका रूपमा हेर्ने प्रवृत्तिले पनि लगानी विस्तारमा अवरोध सिर्जना गरेको छ । यसका बाबजुद दालमोठ उद्योगले उत्पादन, प्याकेजिङ, ढुवानी, बजार व्यवस्थापन र कृषि क्षेत्रमा हजारौँलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिइरहेको छ, जसले वैदेशिक रोजगारीको दबाब कम गर्न सक्ने सम्भावना देखाएको छ ।

नेपाल दालमोठ उत्पादक संघका निवर्तमान अध्यक्ष नारायण कार्कीका अनुसार दालमोठ र अन्य स्न्याक्स उद्योगहरू आयात प्रतिस्थापनको महत्वपूर्ण आधार बन्न सक्छन्। उनी भन्छन्, “हाल नेपाल आयातित स्न्याक्स सामग्रीमा अत्यधिक निर्भर छ, जसले ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिरहेको छ। तर स्वदेशी दालमोठ र आलु चिप्स उद्योगलाई उचित नीति, प्रविधि र प्रोत्साहन दिन सकिएमा आयात घटाएर स्वदेशमै रोजगारी र उत्पादन बढाउन सकिन्छ।” उनका अनुसार चना, आलु, मकै र तेलहनजस्ता कच्चा पदार्थको प्रयोगले किसान र उद्योगबीचको सम्बन्ध बलियो बनेको छ। उद्योग सशक्त भएमा किसानले उत्पादनको बजार पाउँछन्, उद्योगले कच्चा पदार्थ पाउँछ र उपभोक्ताले गुणस्तरीय स्वदेशी उत्पादन उपभोग गर्न पाउँछन्।

गुणस्तरको सवालमा दालमोठ उद्योगले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्ने उद्योगी र उपभोक्ता दुवैको साझा धारणा छ। कतिपय अवस्थामा दालमोठलाई ‘जंक फुड’ भनेर बुझ्ने प्रवृत्ति देखिए पनि उद्योगीहरू यसलाई गलत व्याख्या मान्छन्। उनीहरूका अनुसार दालमोठ अखाद्य वस्तु होइन, यसमा जडीबुटीबाट बनेका मसला प्रयोग गरिन्छ र केमिकलको प्रयोग हुँदैन। समस्या तब देखिन्छ, जब अवैध वा दर्ता नभएका उत्पादनहरूले बजार बिगार्छन्। त्यसैले गुणस्तरीय कच्चा पदार्थ, स्वच्छ उत्पादन प्रक्रिया, म्याद मिति, लेबलिङ र अनुगमनको कडाइमार्फत दालमोठ सुरक्षित खाद्य वस्तु हो भन्ने सन्देश उपभोक्तासम्म प्रभावकारी रूपमा पु¥याउन आवश्यक देखिन्छ।

हाल नेपाली दालमोठको निर्यात अत्यन्त सीमित अवस्थामा छ भने बाह्य उत्पादनको आयात उच्च रहेको उद्योगीहरूको भनाइ छ। निर्यात प्रवद्र्धनका लागि सरल नीति, अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण, कूटनीतिक पहल र अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सहभागिताको अवसर आवश्यक रहेको उनीहरू बताउँछन्। यदि सरकारले स्वदेशी उद्योगलाई यस्ता प्लेटफर्ममा सक्रिय रूपमा जोड्यो भने नेपाली दालमोठले विदेशी बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने विश्वास उद्योगीहरूमा देखिन्छ।

दालमोठ उद्योगको विकाससँगै किसानको आम्दानी बढ्ने, युवाले स्वदेशमै रोजगारी पाउने र उपभोक्ताले गुणस्तरीय उत्पादन पाउने अवस्था सिर्जना हुन्छ। त्यसैले दालमोठ उद्योगलाई केवल नास्ताको परिकारका रूपमा होइन, कृषि, उद्योग र अर्थतन्त्र जोड्ने सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्ने सोच विकास गर्नुपर्ने उद्योगीहरूको निष्कर्ष छ। सरकार, उद्योगी, किसान, बैंक र उपभोक्ताबीच साझा प्रतिबद्धता र सहकार्य भएमा दालमोठ उद्योग आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रामा एउटा बलियो आधार बन्न सक्ने देखिन्छ।

You might also like

Comments are closed.