लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ संचालन भएको २१औँ संस्करणको लेखनाथ महोत्सव जारी छ । पुस ३ गते सुरु भएको महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।
महोत्सवमा आज लोकदोहोरीतर्फ बद्री पंगेनी , आशा विसी, चोलेन्द्र पौडेल, टेक क्षेत्री, कमला सुनार, पुजा गुरुङको प्रस्तुती रहने छ । हास्यव्यङ्ग्यतर्फ हर्के हल्दार समुहका मनोज खड्का र सस्मिता गिरीको प्रस्तुती रहने छ । त्यसैगरि बेलुकाको पप कन्सर्टतर्फ लाहुरे व्याण्ड, ऋतु कडेल र सुजित सेवाङको प्रस्तुती रहने छ ।
महोत्सवमा कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा राम्रो कारोबार भएको छ। विशेषगरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका लागि आकर्षण बनेका छन् ।
०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवद्र्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाको भनाइ छ ।





Comments are closed.