नेपालको औद्योगिक क्षेत्रमा साना तथा मझौला उद्योगहरूको भूमिका मेरुदण्डका रूपमा रहेको छ । विशेषगरी खाद्य प्रशोधन अन्तर्गत पर्ने दालमोठ तथा नमकिन उद्योगहरूले स्थानीय कच्चा पदार्थको प्रयोग, पूँजी परिचालन र रोजगारी सिर्जनामा पु¥याएको योगदान अतुलनीय छ । यही क्षेत्रमा क्रियाशील सम्पूर्ण उद्योगीहरूलाई एउटै छानामुनि गोलबद्ध गर्ने र साझा समस्याको समाधान खोज्ने उद्देश्यका साथ नेपाल दालमोठ उत्पादक संघ क्रियाशील रहँदै आएको छ ।
हाल संघमा काठमाडौं उपत्यका र आसपासका क्षेत्रका धेरै उद्योगीहरू आबद्ध हुनुहुन्छ । तर, हाम्रो लक्ष्य यतिमा मात्र सीमित छैन । अबको दिनमा देशभर छरिएर रहेका साना–ठूला सबै दालमोठ उत्पादकहरूलाई एउटै छानामुनि ल्याउने अभियानमा हामी तीव्र रूपमा लागेका छौं। जबसम्म हामी देशभरका उत्पादकहरू संगठित हुँदैनौं, तबसम्म हाम्रा समस्याहरूले राज्यको तल्लो तहदेखि माथिल्लो निकायसम्म प्राथमिकता पाउँदैनन् ।
कुनैपनि व्यावसायिक संस्थाको प्रमुख जिम्मेवारी भनेकै आफ्ना सदस्यहरूको हकहितको संरक्षण गर्नु हो । कच्चा पदार्थको आयातमा देखिने समस्या, भन्सार दरबन्दीका कुराहरू र बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा जस्ता चुनौतीहरूसँग लड्न एउटा बलियो संस्थागत आवाज आवश्यक छ । हामीले दालमोठ उत्पादकहरूको हकहितमा बलियो आवाज बुलन्द गर्नका लागि संस्थाको सांगठनिक ढाँचालाई अझै मजबुत बनाउने संकल्प गरेका छौं ।
दालमोठ उद्योगहरूले केवल उत्पादन मात्र गर्दैनन्, यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेका छन् । हजारौं परिवारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिएको छ । आयातित खाजालाई विस्थापन गर्दै स्वदेशी स्वाद र गुणस्तरलाई बजारमा स्थापित गरिएको छ । राज्यको कर प्रणालीमा यी उद्योगहरूको महत्वपूर्ण हिस्सा छ ।
हाम्रो मेहेनतले मात्र उद्योग फस्टाउन सम्भव छैन । यस्ता श्रममूलक र उत्पादनमुखी उद्योगहरूको प्रवद्र्धन गर्नु राज्यको प्राथमिक दायित्व हो। सहुलियतपूर्ण ऋण, प्रविधि हस्तान्तरणमा सहयोग र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति सरकारले ल्याउनुपर्छ। बाहिरबाट आयात हुने कमसल खाद्य सामग्रीको नियन्त्रण र स्वदेशी उद्योगको संरक्षण नै समृद्ध नेपाल निर्माणको आधार हो ।





Comments are closed.