पोखरा । विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए ।
खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्नेगरि आयोजित उक्त फेस्टिबलको पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका खाना पस्केका थिए । खाना बाहेक संगीत र खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको थियो । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा रहेको पाककलाको क्षमता देखाउने गरि फूड फेस्टिबल आयोजना गरिएको बताए ।
विद्यालयले यो सहित चौथो संस्करणको फूड फेस्टिबल आयोजना गरेको हो । ‘विद्यार्थीले किताबी ज्ञान मात्र पाएर हुँदैन । व्यावाहरिक रुपमा पनि सीप देखाउने ठाउँ चाहिन्छ । विद्यार्थीका लागि यो फेस्टिबल आफ्नो सीप पस्कने अवसर हो,’ उनले भने, ‘पोखरा आफैमा पर्यटकीय सहर भएकोले पनि यस्ता गतिविधिले उनीहरुमा क्षमताको वृत्ति हुन्छ । विद्यार्थीले खाना पकाउनेदेखि पाहुनासम्म पस्किने कुरा प्रयोगात्मक रुपमै सिक्न पाउँछन ।’
पोखरामा हरेकवर्ष सडक महोत्सव आयोजना हुने र त्यसले खाना, संगीत र संस्कृतिलाई पस्केको अवस्थामा विद्यालयमार्फत पनि प्रयास थालिएको विद्यालयका प्लस टु संयोजक राकेश जोशीले बताए । ‘पर्यटन व्यावसायीले सडक महोत्सव आयोजना गरेर लाखौं पर्यटक पोखरा ल्याउँछन । त्यस्तै प्रतिभाका विद्यार्थीले पनि सिकेको सीपलाई विद्यालयमा प्रस्तुत गर्ने अवसर यो फेस्टिबलले दिएको छ,’ उनले भने, ‘विद्यालयका लागि यो ठूलो कार्यक्रम पनि हो, जसले विद्यार्थीको क्षमतालाई बाहिर देखाउन सकिएको छ ।’
खाना पकाउनु खुुवाउनुलाई मात्र नभई भान्साको सरसफाईदेखि स्वस्थकर खाना पस्किनका लागि पनि यस्ता अभ्यास जरुरी रहेको जोशीले बताए । ‘घरको भान्सा सफा नभएसम्म हामी आफै पनि सफा हुँदैनौ,’ उनले भने, ‘पोखरा आफैमा पर्यटकीय सहर भएकोले पनि यहाँ खानाको पनि विशेष महत्व छ ।’ फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेको स्वाद चखाउने अवसर पनि यो फेस्टिबल भएको उनले बताए ।
यो कार्यक्रम गर्नका लागि विद्यार्थी आफैले प्रस्तावना तयार पारेर विद्यालयमा बुझाउने र त्यही प्रस्तावना अनुसार कार्यक्रम सम्पन्न गर्ने भएकोले यस्ता कार्यक्रमले विद्यार्थीमा पूर्ण व्यावसायिकता पनि विकास गराउने प्राचार्य सापकोटाले बताए । ‘विद्यार्थीले कार्यक्रम गर्छन । त्यसपछि सबै काम सकेर हिसाबकिताब पनि फरफारक गर्छन । त्यो अवधिमा विद्यार्थीको बजारीकरण, खाना पकाउने कला, पस्कने शैली, कार्यक्रमको स्वरुप, हिसाबकिताको पारदर्शीता सबै एकैथलोमा अभ्यास गर्न पाउँछन,’ उनले भने, ‘एउटा व्यवसायको पूर्ण रुपको अभ्यास विद्यालयमा हुने भएकोले यसले विद्यार्थीमा क्षमता प्रस्ट्याउँछ ।’ विद्यार्थीमा व्यावसायीकताको संस्कार सिकाउन पनि यसले सघाउने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि लामिछानेले विद्यार्थीमा किताबी ज्ञान मात्र नभई व्यवाहारिक सीप पनि आवश्यक हुुने बताए । उनले विद्यार्थीमा सीपको महत्व बुुझाउनका लागि पनि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । लामिछानेले शैक्षिक क्षेत्र र पर्यटनलाई व्यवासायलाई एकअर्कासँग जोड्ने प्रयास बोर्डले गरिरहेको बताए । ‘गण्डकी प्रदेशको प्रयासबाट अरु प्रदेशले पनि सिक्नुपर्ने हुन्छ । गण्डकीको खाना र आतिथ्यता अरुका लागि पनि सिकाइको थलो हो,’ उनले भने ।
पोखरा आफैमा पर्यटकीय सहर भएको र यहाँका कम्तिमा १२ सय होटल भएकोले शिक्षण संस्थाले उत्पादन गरेका विद्यार्थीलाई पोखरामै रोजगार उपलब्ध गराउन सकिने पनि उनले बताए । ‘यहाँ पर्यटनका सयौं पूर्वाधार छन । ती पूर्वाधारमा जनशक्तिको खाँचो छ । यस्तै शिक्षण संस्थाले जनशक्तिको अभाव पुरा गर्ने भएकोले विद्यार्थीका लागि सिकाई जरुरी छ,’ उनले भने ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले यस्तै सिकाईले विद्यार्थीमा व्यावसायिकताको भावना विकास हुने बताए । ‘यस्ता कार्यक्रम औपचारिकताका लागि मात्र नभई वास्तविकताका लागि आवश्यक छ,’ उनले भने, ‘किताबी ज्ञानलाई वास्तविकतामा बदल्न सकेको खण्डमा त्यसले प्रतिफल दिलाउँछ ।’ पछिल्लो समय स्वस्थ खानाका लागि मान्छे दौडधुप गरिरहेकोले यस्ता गतिविधिले खानाको गुणस्तरमा सुधार ल्याउने अध्यक्ष पौडेलले बताए । ‘विद्यालमा सिकेको यो सीपलाई भविश्यमा व्यावसायिक रुपमा पनि उपयोग गर्न सकिनेछ,’ उनले भने । फूड फेस्टिबलको अवसरमा विद्यालयमा विद्यार्थीले विभिन्न सांगीतिक कार्यक्रम पनि पस्केका थिए ।





Comments are closed.