२७औँ पोखरा सडक महोत्सवलाई अझै स्मरणीय, ऐतिहासिक र प्रभावकारी बनाउने उद्देश्यका साथ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, पोखराले यो वर्ष पनि विशेष तयारीका साथ महोत्सव आयोजना गर्न गइरहेको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ आयोजना हुँदै आएको पोखरा सडक महोत्सव खाना, संगीत र संस्कृतिमा आधारित नेपालको पर्यटन इतिहासमै एउटा ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित भएको छ ।
यो महोत्सवको महत्व केवल उत्सव मनाउनेमा मात्र सीमित छैन । यसले पर्यटनसँग जोडिएका वित्तीय तथा आर्थिक क्षेत्रलाई सक्रिय बनाउन ठूलो भूमिका खेल्दछ । पाँच दिनसम्म सञ्चालन हुने यस महोत्सवले होटल, यातायात, साहसिक पर्यटन गतिविधि, हस्तकला, व्यापार लगायत सम्पूर्ण पर्यटनमा सकारात्मक प्रभाव पार्दछ । विशेषगरी रेष्टुरेन्ट तथा आतिथ्य व्यवसायले प्रत्यक्ष रूपमा लाभ उठाउने गरेको छ, जसको प्रभाव महोत्सव अवधिभर मात्र होइन, त्यसपछिसम्म पनि देखिन्छ ।
पोखरा सडक महोत्सव अर्को महत्वपूर्ण पक्ष भनेको नेपालका विविध जातजाति, समुदाय र संस्कृतिको एउटै मञ्चबाट प्रदर्शन हुनु हो । विभिन्न समुदायका मौलिक भेषभूषा, नृत्य, गीत र सांस्कृतिक प्रस्तुतीकरणले हाम्रो सांस्कृतिक विविधतालाई जीवन्त बनाएको छ । यस वर्ष विशेष आकर्षणका रूपमा सामाजिक विषयमा आधारित सडक नाटक, विभिन्न खेलकुद गतिविधि तथा सडक संवाद कार्यक्रमहरू समावेश गरिएका छन्, जसले मनोरञ्जनसँगै सचेतनाको सन्देश पनि प्रवाह गर्नेछ ।
महोत्सवको प्रवद्र्धनका लागि हालै हामीले पूर्वी नेपालमा प्रचारात्मक भ्रमण सम्पन्न ग¥यौँ र उक्त भ्रमण काठमाडौँमा आएर समापन ग¥यौँ। यस भ्रमण टोलीमा रेबान पोखरा, भिजिट पोखरा २०२५, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्, पोखरा उद्योग वाणिज्य संघ तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता थियो । पूर्वी नेपालका प्रायः सबै पर्यटन सरोकारवालाहरू पोखरा सडक महोत्सवबारे जानकारी राख्ने र महोत्सवमा सहभागी हुन इच्छुक रहेको देख्दा हामी उत्साहित छौँ । पश्चिम नेपालमा पनि यस्तै सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
करिब ३ किलोमिटर लामो क्षेत्रमा फैलिएको यो महोत्सवमा ठूलो जनसहभागिता हुने भएकाले सुरक्षा व्यवस्थापन एउटा प्रमुख चुनौती हो ।
त्यस्तै, महोत्सव अवधिभर आवश्यक पर्ने ठूलो मात्राको विद्युत् आपूर्तिको निरन्तर व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण कार्य हो । पाँच दिनसम्म लगातार विद्युत् आपूर्ति सुनिश्चित गर्नुका साथै कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु पनि सहज छैन । यी सबै चुनौतीहरूलाई हामी प्रायोजक संस्था, सरकारी निकाय, सुरक्षा निकाय तथा सरोकारवालाहरूको सहयोग र समन्वयमार्फत व्यवस्थापन गरिरहेका छौँ, जसका लागि उहाँहरूप्रति हामी आभारी छौँ ।
संस्थाभित्र विभिन्न संयोजकहरूबीच उत्कृष्ट समन्वय छ र अन्य पर्यटन तथा सरोकारवाला संस्थाहरूसँग पनि उत्तिकै राम्रो सहकार्य कायम छ । यही आपसी समन्वय, एकता र साझा प्रयास नै पोखरा सडक महोत्सवको निरन्तर सफलताको मुख्य आधार हो ।





Comments are closed.