विगत २६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव अहिले आफ्नो २७ औं संस्करणमा प्रवेश गरेको छ । नेपालकै सबैभन्दा ठूलो र लोकप्रिय सडक महोत्सवका रूपमा स्थापित पोखरा सडक महोत्सवले पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सडक महोत्सवलाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन विशेष ध्यान दिइएको छ । महोत्सवमा सहभागी हुने स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय बासिन्दा, व्यवसायी र कलाकार सबैले आफूलाई पूर्ण रूपमा सुरक्षित महसुस गर्न सकून् भन्ने उद्देश्यका साथ सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ ।
सुरक्षा संयोजकको हैसियतले हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्वयंसेवक र आयोजक संस्थाबीच प्रभावकारी समन्वय गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाएका छौं । महोत्सव स्थलमा भीड व्यवस्थापन, आपतकालीन सेवा, स्वास्थ्य सहायता, सिसिटिभी निगरानी, ट्राफिक व्यवस्थापनलगायत पक्षलाई व्यवस्थित रूपमा कार्यान्वयन गरिएको छ । यसले महोत्सवमा सहभागी सबैले निश्चिन्त भएर मनोरञ्जन लिन सक्ने वातावरण सिर्जना गरेको छ । पोखरा सडक महोत्सव केवल उत्सव मात्र होइन, सुरक्षित र अनुशासित सार्वजनिक कार्यक्रमको उदाहरण बन्ने हाम्रो लक्ष्य हो ।
पोखरा सडक महोत्सव सुरक्षा, संस्कृति, पर्यटन र स्वादको अनुपम संगम हो । विगतका अनुभवबाट सिक्दै, अझ व्यवस्थित र सुरक्षित महोत्सव आयोजना गर्ने हाम्रो प्रयास निरन्तर जारी छ । सबैलाई सुरक्षित, रमाइलो र अविस्मरणीय अनुभव दिलाउने उद्देश्यका साथ २७ औं पोखरा सडक महोत्सव भव्य रूपमा सम्पन्न गर्ने विश्वास लिएका छौं ।




Comments are closed.