पोखरा । डिजिटल पेन्ट्सले गण्डकी प्रदेशका लागि आफ्नो आधिकारिक विक्रेता नियुक्त गरेको छ । कम्प्लिट ग्रुप अन्तर्गतको ‘कम्प्लिट कलर हाउस’ लाई गण्डकी क्षेत्रको आधिकारिक विक्रेताको जिम्मेवारी दिइएको हो । नेपाली रङ बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरका कारण यो पेन्ट्स लोकप्रिय बन्दै आइरहेको छ ।
लामो समयदेखि सर्टिङ सुटिङ र गार्मेन्ट व्यवसायमा अग्रणी पहिचान बनाउन सफल प्रतिष्ठित व्यवसायी पोषराज पौडेलले अब रङ (पेन्ट्स) व्यवसायमा पनि प्रवेश गरेका हुन् । आफ्नो व्यावसायिक यात्रालाई विविधीकरण गर्दै पौडेलले डिजिटल पेन्ट्सको आधिकारिक डिलरसिप लिएर गण्डकी प्रदेशमा गुणस्तरीय रङहरूको सेवा दिने तयारी गरेका हुन् ।
आधिकारिक विक्रेता नियुक्त भएसँगै गण्डकी प्रदेशका सबै जिल्लाहरूमा सब–डिलर र काउन्टरहरू विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको पौडेलले जानकारी दिए । ‘हामीले वर्षौँदेखि विश्वास जितेको व्यावसायिक अनुभवलाई अब रङको क्षेत्रमा पनि लागू गर्दै प्रदेशभरका उपभोक्तालाई उत्कृष्ट सेवा दिने लक्ष्य लिएका छौँ,’ उनले भने ।

विगत ३० वर्षदेखि नेपाली माटोमा रङ उत्पादन गर्दै आएको यो ब्राण्डको फ्याक्ट्री मोरङको विराटनगरमा छ । डिजिटल पेन्ट्सले जर्मन प्रविधि र विश्वस्तरीय विशेषज्ञताको प्रयोग गरी नेपाली हावापानी सुहाउँदो रङहरू उत्पादन गर्दै आइरहेको उनले बताए ।
कम्पनीले आफ्ना उत्पादनहरूमा ७, १० र १२ वर्षसम्मको वारेन्टी सुविधा प्रदान गरेको छ । मल्टिनेशनल ब्राण्डहरूसँग सीधा प्रतिस्पर्धा गर्न सक्ने गरी उच्च गुणस्तरका उत्पादनहरू बजारमा उपलब्ध रहेको कम्पनीको दावी छ । नेपाली संस्कृति, भूगोल र उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राखी किफायती र टिकाउ रङहरू उपलब्ध छन् ।




Comments are closed.