‘गल्ली म्याप्स’को नयाँ पहल, मोबाइलबाटै मतदान केन्द्र पत्ता लगाउन सक्ने

काठमाडौं । नेपालको स्वदेशी डिजिटल नेभिगेसन प्लेटफर्म गल्ली म्याप्सले आगामी आम निर्वाचन २०८२ लाई लक्षित गर्दै मतदाताहरूका लागि मतदान केन्द्र सजिलै पत्ता लगाउन सकिने विशेष ‘मतदाता पहुँच’ (Voting Center Navigation Feature) सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ललितपुर महानगरपालिकाको प्राविधिक सहकार्यमा विकास गरिएको यो सुविधा पाटन दरबार क्षेत्रमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।

नयाँ सुविधाअन्तर्गत मतदाताले दुई तरिकाबाट आफ्नो मतदान केन्द्र पत्ता लगाउन सक्नेछन् । पहिलो, भोटर आइडीमा आधारित नेभिगेसन प्रणालीमार्फत मतदाताले आफ्नो मतदाता परिचयपत्र नम्बर प्रविष्ट गरेपछि तोकिएको मतदान केन्द्रको सटीक स्थान र पुग्ने मार्ग देख्न सक्नेछन् । दोस्रो, प्रशासनिक छनोटमा आधारित नेभिगेसन अन्तर्गत प्रदेश, जिल्ला, स्थानीय तह र वडा चयन गरेर मतदान स्थल पत्ता लगाई नेभिगेसन सुविधा लिन सकिनेछ ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मोबाइल एपमार्फत उक्त फिचरको विधिवत् उद्घाटन गर्दै स्वदेशी युवाको नवप्रवर्तनशील सोचले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाएको बताए । उनले यस सुविधाले ‘Most Informed Election’ को राष्ट्रिय अवधारणालाई थप सशक्त बनाएको उल्लेख गरे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गल्ली म्याप्ससँगको सहकार्यलाई स्मरण गर्दै स्थानीय स्तरमा प्लेटफर्मले पुर्‍याएको योगदान सराहनीय रहेको बताए । उनले प्रविधिको प्रयोगले निर्वाचनलाई अझ व्यवस्थित र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गर्दै सबै नागरिकलाई आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे ।

गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत (CEO) राज विक्रम महर्जनले सानो समस्याको समाधानबाट सुरु भएको यात्राले आज राष्ट्रिय महत्वको प्रक्रियामा योगदान गर्न पाउँदा गर्व महसुस भएको बताए । आगामी फागुन २१ को निर्वाचनमा बढीभन्दा बढी नागरिकले यस प्रविधिको प्रयोग गरी सहज रूपमा मतदान केन्द्र पत्ता लगाउन सकून् भन्ने कम्पनीको लक्ष्य रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा विभिन्न सरकारी अधिकारी, उच्चपदस्थ व्यक्तित्व तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । गल्ली म्याप्स नेपालको आफ्नै आधुनिक डिजिटल नेभिगेसन प्लेटफर्म हो, जसले मुख्य सडकदेखि सहरका भित्री गल्ली र घर नम्बरहरूसम्मको विस्तृत तथा भरपर्दो भौगोलिक तथ्याङ्क उपलब्ध गराउँदै आएको छ । स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर विकास गरिएको यो प्लेटफर्मले सरकारी तथा सार्वजनिक सेवाको पहुँच नागरिकको घरदैलोसम्म पुर्‍याउन सेतुको भूमिका निर्वाह गर्दै आएको छ ।

You might also like

Comments are closed.