नाइमा मोबिलिटी संवाद : नेपालमा सवारी एसेम्बलका अवसर र चुनौतीबारे बहस

काठमाडौं । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘मोबिलिटी संवाद’को नवौं श्रृङखला सम्पन्न गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

‘कम्प्लिट्ली नक्ड डाउन (सिकेडी) भेहिकल एसेम्ब्ली ः अवसर, चुनौती र सम्भावना’ विषयक संवादमा उद्योगी, सरकारी प्रतिनिधि र शैक्षिक क्षेत्रका विज्ञहरूले नेपालमा सवारी साधन उत्पादनका विविध पक्षमाथि छलफल गरेका थिए ।

थापाथली क्याम्पसका प्रमुख डा. खेम ज्ञवालीले लामो समयपछि उद्योग र शिक्षा क्षेत्रबीच यस्तो महत्वपूर्ण सहकार्य भएकोमा खुसी व्यक्त गरे । उनले व्यवहारिक सिकाइ र अनुसन्धानका लागि यस्ता संवाद आवश्यक रहेको बताए ।

कार्यक्रममा नाइमाका सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले ‘मेक इन नेपाल’ नीतिलाई सफल बनाउन सिकेडी एसेम्ब्ली एउटा व्यवहारिक औद्योगिक मोडेल भएको बताए । उनले यसबाट दक्ष जनशक्ति विकास, युवा रोजगारी र प्रविधि हस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आयोजित प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति शेखर गोल्छा र इ. लक्ष्मण पालिखेले दिगो औद्योगिक विकासका लागि स्पष्ट र स्थिर सरकारी नीति आवश्यक रहेको बताएका थिए ।

भारत, चीन र ब्राजिल जस्ता देशहरूले पनि सिकेडी एसेम्ब्लीलाई नै औद्योगिकीकरणको आधार बनाएको उदाहरण प्रस्तुत गर्दै उनीहरुले इन्जिनियरिङ विद्यार्थीलाई उद्योगको आवश्यकता अनुसार तयार पार्नुपर्नेमा जोड दिए ।

समापन सत्रमा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले आधुनिक सवारी प्रविधिबारे ट्राफिक प्रहरीलाई शिक्षित गराउनु पर्नेमा जोड दिए । नाइमाले उपत्यकाका ट्राफिक प्रहरीलाई ‘इमर्जिङ भेहिकल टेक्नोलोजी’ र ‘सफ्ट स्किल्स’ सम्बन्धी तालिम दिने पहल गरेकोमा उनले प्रशंसा गरे ।

नाइमा बोर्ड सदस्य यमुना श्रेष्ठले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाको त्रिपक्षीय सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई प्रतिस्पर्धी बनाउन सकिने धारणा राखिन् । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आगामी दशौँ श्रृङखला ललितपुरको पुल्चोक क्याम्पसमा आयोजना गरिने जानकारी दिए । करिब २०० जनाको सहभागिता रहेको कार्यक्रमको संयोजन विद्यार्थी संगठन ‘एमेसिन’ले गरेको हो ।

You might also like

Comments are closed.