काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २८ गते सोमबार हुने निर्वाचनलाई लिएर संघभित्र चुनावी माहोल तातेको छ । यही सन्दर्भमा वर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य उमा खड्का पाठक दीपक राज भुसालको समूहबाट कोषाध्यक्ष पदकी उम्मेदवारका रूपमा सक्रिय रूपमा चुनावी तयारीमा जुटेकी छन् ।
निर्वाचनको औपचारिक कार्यतालिका सार्वजनिक भएसँगै पाठकले आफ्ना स्पष्ट एजेण्डासहित सदस्यहरूसँग भेटघाट तथा छलफललाई तीव्र बनाएकी छन्। उनले संघको आर्थिक व्यवस्थापनलाई थप पारदर्शी, उत्तरदायी र दीर्घकालीन सोचमा आधारित बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएकी छन् । उनका अनुसार संघको आम्दानी र खर्च नियमित तथा स्पष्ट रूपमा सदस्यहरूसमक्ष प्रस्तुत गरिनेछ भने आर्थिक निर्णयहरू नीतिगत सुधार र संस्थागत हितलाई केन्द्रमा राखेर गरिनेछ ।
पाठकले इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित केन्द्र र शाखाबीचको आर्थिक समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । “संघको आर्थिक संरचना बलियो बनाउन केन्द्र र शाखाबीच पारदर्शी र प्रभावकारी समन्वय अपरिहार्य छ,” उनले भनिन् ।
उनको चुनावी प्रतिबद्धतामा सदस्य–मैत्री आर्थिक नीति विकास गर्ने, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सात सयभन्दा बढी सदस्य संस्थाहरूको हित सुनिश्चित गर्ने तथा आर्थिक निर्णय प्रक्रियामा समान पहुँच र स्पष्टता कायम गर्ने विषय प्रमुख छन् । साथै, सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई संस्थागत रूपमा विस्तार गर्दै इक्यानलाई केवल आर्थिक रूपमा सक्षम मात्र नभई विश्वसनीय, अनुशासित र सुशासनयुक्त संस्था बनाउने लक्ष्यसमेत उनले अघि सारेकी छन् ।
पाठकले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि इक्यानको साझा भविष्य निर्माणसँग जोडिएको स्पष्ट पारेकी छन् । “यो उम्मेदवारी पदका लागि मात्र होइन, संघलाई अझ सुदृढ, उत्तरदायी र पारदर्शी बनाउने सामूहिक यात्राको हिस्सा हो,” उनले भनिन् । अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाका साथ संघलाई थप मजबुत बनाउने उद्देश्यले आफू कोषाध्यक्ष पदमा उम्मेदवार बनेको उनको भनाइ छ ।





Comments are closed.