एनटिएचएमसीमा ‘फुड फेष्ट २०२६’ सम्पन्न

पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज ९एनटिएचएमसी० मा शनिबार फुड फेष्ट २०२६ सम्पन्न भएको छ । कलेजको २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६ आयोजना गरिएको थियो ।

फुड फेष्टको प्रमुख अतिथि पोखरा विश्व विद्यालयका स्वास्थ्य विज्ञान संकायका डिन प्रोफेसर डा.विष्णुराज तिवारी, कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मीले बेलुन उडाएर शुभारम्भ गरे ।

कार्यक्रममा सहभागि पाहुनालाई स्वागत गर्दै कलेजका अध्यक्ष अशोक पालिखेले सानो क्षेत्रबाट सुरु गरेको कलेज २७ वर्षसम्म आउँदा २७ रोपनी जग्गामा फैलिएको बताए ।

हामी कम्पनीको रुपमा रहेको भएपनि सेवाका हिसाबले समुदायस्तरमा छौं , उनले भने, देश विदेशमा रहेका ११२ जना दाजुभाई दिदिबहिनीले पोखरालाई शिक्षा, पर्यटनको हबको रुपमा विकास गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै स्थापना गरेका हौं । कलेजका विद्यार्थी पोखरा, काठमाडौं अनि विदेशमा पाँच तारे होटलका उच्च पदमा रहेर काम गरिरहेकोमा गर्व लाग्ने गरेको बताए । गुणस्तरमा हामी कुनै प्रकारको सम्झौता गर्दैनौ । त्यसैले पनि हामीले हाम्रो ल्यावलाई फाईवस्टार लेवलको बनाएका छौं । उनले भने, भविष्यमा कलेजलाई आउट स्ट्याण्डिङ बनाउने लक्ष्य रहेको छ ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले कलेजका गतिविधिका बारेमा प्रकाश पार्दै पढाईका साथमा व्यावहारिक ज्ञान र अतिरीक्त क्रियाकलापलाई संगसंगै अघि बढाईरहेको बताए । विद्यार्थी, शिक्षकका लागि तालिम, उत्प्रेरणा जगाउने र कुनैपनि कार्यक्रमको उचित व्यवस्थापनका सिपहरु सिकाईरहेको बताए । उनले भने, यो फेष्ट २५ औं व्याचले आयोजना गरेको हो हामीले समन्वय मात्रै गरेका हौं । सबै विद्यार्थीले नै व्यवस्थापन मिलाएका हुन्।

कलेजमा प्लस टु होटल म्यानेजमेन्ट बीएचएम, बीबीए, बीबीए फाईनान्सको पढाई भइरहेको छ । गएको वर्षदेखि इएमबीएको पढाई गैह्रापाटनस्थित ब्लक बी मा चलिरहेको बताए । यो कोर्ष कुनैपनि विषयमा व्याचलर गरेको दुई वर्ष पूरा भएका, अध्ययनको समय नपाएका, दिउँसोमा काम गर्नेहरुका लागि उपयुक्त छ । प्रिन्सिपल रेग्मीले भने, साँझको समयमा पढाई हुने भएकोले यसबाट लाभ लिनुहोस्। उनले आफ्ना विद्यार्थीहरु अहिले विश्वका ४७ वटा देशमा उच्च तहमा रहेर काम गरिरहेको बताए । अब छिट्टै व्यावसायीक उत्कृष्टताका लागि तालिमको आयोजना गर्न लागिएको पनि सो अवसरमा जानकारी दिए ।

प्रमुख अतिथि तिवारीले एनटिएचएमसी र पोखरा विश्व विद्यालयबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेजको २७ वर्षिय यात्रा उत्कृष्टता हासिल गर्ने बाटोमा लागि रहेकोमा खुसि व्यक्त गरे । हामीलाई पनि गर्व लाग्छ । व्यवस्थापन, अध्ययन र उत्पादित विद्यार्थीहरुले देश विदेशमा राम्रो काम गरिरहेका छन् । अध्ययनको साथसाथै सिप विकासको क्षेत्र पनि भएकोले व्यावसायीक क्षेत्रको सहभागिता र समन्वय आवश्यक भएको बताए । उनले भने, अब पर्यटनमा स्वस्थतालाई जोडेर लैजानु पर्छ । खाना मुखको मीठोका लागि मात्रै नभई शरिरका सम्पूर्ण इन्द्रियले महशुस गर्ने हुनुपर्छ । उनले अबको शिक्षा उत्पादनमूलक, उत्पादनलाई बेच्न सक्ने र देशको अर्थतन्त्रलाई टेवा पुग्ने खालको हुनुपर्नेमा जोड दिए ।

परिक्षा नियन्त्रक राजु पाण्डेले एनटिएचएमसी पोखरा विश्व विद्यालयको जेठो सन्तानको रुपमा रहेको बताए । हामी कलेजका गतिविधिबाट खुसि छौं । उनले भने, तपाँईहरु अगाडी बढिरहनुस् हामी हातेमालो गरिरहन्छौं ।

पोखरा वडा नं १४ का अध्यक्ष बोधराज कार्कीले पर्यटकीय राजधानी पोखराको आफ्नै वडामा स्थापना भएको कलेजले आत्मनिर्भर हुने शिक्षामा ठूलो योगदान दिएको बताए ।

राष्ट्रिय परिक्षा बोर्ड गण्डकीका प्रमुख भाष्करदत्त पन्तले अबको शिक्षा ज्ञान आर्जनसंगै सिपमूलक भएन भने काम नलाग्ने बताए । बजारको आवश्यक्ता अनुसार चल्नुपर्ने बताउँदै उनले एनटिएचएमसीको प्रगति आफुले अवलोकन गरेको फिनल्याण्डको जस्तो देख्दा गर्वको अनुभूति भएको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले नेपालमा पर्यटकहरु घुम्न नै आउने भएकोले घुम्ने स्थानहरुको बसाई बाटोको सुविधाका कारण छोटिएको बताए । उहिले अनुसरण गरेर पर्यटनमा लागियो । उनले भने अहिले पढेर पर्यटनमा लाग्ने संख्या बढेको छ । जसले गर्दा पर्यटन क्षेत्रको सेवा अँझ गुणस्तरिय भएको छ ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा गुणस्तरिय शिक्षा लिईरहेका विद्यार्थीहरु कोहि पनि बेरोजगार नभएको बरु उनीहरु कतिपय रोजगारदाता भएको थाहा पाउँदा खुसि लागेको बताए ।

हरेक वर्ष विद्यार्थीद्वारा मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गरिदै आइएको छ । यो एउटा ब्राण्डिङ भइसकेको प्रोडक्ट पनि हो ।
फुड फेष्टिवलमा विभिन्न प्रकारका खाना र पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) लगायतका खाना पस्किएको थियो । सो अवसरमा बार टेण्डरिङ फेलरिङ पनि समावेस गरिएको थियो ।

फेष्टिवललाई सांस्कृतिक तथा संगीतमय बनाईएको थियो । कलेजका विद्यार्थीका व्याण्डका प्रस्तुति तथा नृत्य देर्खाइएको थियो भने चर्चित कलाकार समिर श्रेष्ठ, केहरसिंह लिम्बु लगायतले गीत गाएर माहोल तताएका थिए । फुड फेष्टको संयोजन विवेक महतले गरेका थिए ।

You might also like

Comments are closed.