शक्ति कुर्सीमा हुदैन, काम र पद्धतिमा हुन्छ

शेषराज भट्टराई, अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को वर्तमान अध्यक्ष शेषराज भट्टराईको कार्यकाललाई इक्यानको इतिहासमा ‘नतिजामुखी र प्रभावशाली’ कार्यकालका रूपमा विश्लेषण गरिन्छ । आज इक्यानको २०औं साधारणसभासँगै हुने नयाँ चयन प्रक्रियापछि उनको कार्यकाल सम्पन्न हुँदैछ । यसैक्रममा इक्यानको गरिमालाई नीतिगत तहसम्म पु¥याउन सफल अध्यक्ष भट्टराईसँग उनको दुई वर्षे कार्यकाल, नेतृत्व शैली र भावी योजनाका बारेमा गरिएको कुराकानीः

इक्यानमा धेरैले तपाईंलाई अध्यक्ष दोहो¥याउन आग्रह पनि गरे, तर किन पदमा बसिरहन चाहनुभएन ?

नेतृत्वमा टाँसिरहनु कमजोरीको प्रतीक हो, र सही समयमा सत्ता हस्तान्तरण गर्नु ‘लिगेसी’ हो । म संस्थालाई व्यक्ति प्रधान होइन, पद्धति प्रधान बनाउन चाहन्छु । मेरो बहिर्गमनले इक्यानमा नयाँ विचारको ढोका खोल्नेछ र एउटा यस्तो संस्कारको विकास गर्नेछ, जहाँ नेतृत्व लोभले होइन, त्याग र उत्तरदायित्वले चल्छ भन्ने सन्देश स्थापित हुनेछ ।

के निवर्तमान अध्यक्ष बन्दा आफ्नो शक्ति र चमक घट्छ जस्तो लाग्दैन ?

शक्ति कुर्सीमा हुँदैन, काममा हुन्छ । निवर्तमान अध्यक्ष रहँदा संस्थाको ‘सेकेन्ड म्यान’ मात्र होइन, अभिभावक पनि बन्नेछु । मेरो चमक मेरो पदले होइन, मैले बसालेको पद्धतिले दिनेछ भन्ने मेरो विश्वास हो ।

तपाईंले इक्यानलाई कुन उचाईमा पु¥याएँ भन्ने अनुभूति गर्नुभएको छ ?

मैले इक्यानलाई एक व्यावसायिक संघबाट रूपान्तरण गरेर राज्यको बौद्धिक र नीतिगत साझेदार बनाएँ । हिजो राज्यले हामीलाई नियमन मात्र गथ्र्यो, आज हामीसँग सल्लाह लिन्छ । हामीले इक्यानलाई एउटा यस्तो निर्णायक शक्ति बनायौँ, जसको सहमति बिना शैक्षिक परामर्शको कुनै पनि राष्ट्रिय नीति अब पूर्ण हुन सक्दैन । हामीले संस्थालाई ‘रिएक्टिभ’ बाट ‘प्रो–एक्टिभ’ बनाएका छौँ ।

तपाईंको कार्यकालमा शिक्षा मन्त्रालयसँगको सम्बन्ध कस्तो रह्यो ?

मेरो कार्यकालमा विभिन्न शिक्षा मन्त्रीहरूसँग १५ पटकभन्दा बढी निर्णायक भेटघाट भए । यी भेटहरू केवल फोटो खिचाउन थिएनन्, बरु शैक्षिक परामर्श क्षेत्रको नीतिगत परिवर्तन र व्यवसायीको हकहितका लागि गरिएका ‘ब्याटल’हरू थिए । आज मन्त्रालयले हामीलाई अनिवार्य साझेदार मान्छ । यो ‘पोलिसी सिफ्ट’ नै मेरो कार्यकालको सबैभन्दा ठूलो लिगेसी हो ।

शाखा विस्तारमा पनि तपाईंको कार्यकाल निकै आक्रामक देखियो नि ?

हो, म अध्यक्ष हुँदा ६ वटा शाखाहरू मात्र क्रियाशील थिए । आज मेरो कार्यकाल सकिँदा काभ्रे, मकवानपुर र सुदूरपश्चिम गरी ३ नयाँ शाखाहरू थपिएका छन् । मेरो उद्देश्य ‘विकेन्द्रीकृत नेतृत्व’ थियो । इक्यान भनेको काठमाडौँ मात्र होइन, सिंगो नेपाल हो भन्ने विश्वास दिलाउन हामी सफल भयौँ ।

तपाईंको नेतृत्व शैलीलाई कतिपयले ‘एग्रेसिभ’ भन्छन्, के यो सही हो ?

म मुद्दामा एग्रेसिभ थिएँ र छु, तर मान्छेमा होइन । संस्थाको हितमा सम्झौता नगर्नुलाई यदि एग्रेसिभ भनिन्छ भने म त्यो ‘ट्याग’मा गर्व गर्छु । नेतृत्वको ठूलो शत्रु बाहिरको विरोध होइन, बरु भित्रको ‘यथास्थितिवाद’ हो । मैले त्यही सोचलाई चिर्ने प्रयास गरेँ ।

इक्यान भित्रको गुटबन्दी अन्त्य गर्न तपाईंले के गर्नुभयो ?

मैले गुटबन्दीलाई ‘व्यावसायिक एजेन्डा’ले विस्थापित गरिदिएँ । जब सबैको साझा लक्ष्य एउटै हुन्छ, गुटहरू आफैँ बिलिन हुन्छन् । मैले ‘म’ होइन ‘हामी’ भनेर काम गरेँ, जसले गर्दा टिममा एकता कायम भयो ।

‘एडुक्लेभ’ (भ्मगअबिखभ) र ‘स्टडी इन नेपाल’ जस्ता अवधारणा किन ल्याउनुभयो ?

परामर्श क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न एउटा प्राज्ञिक मञ्च चाहिन्थ्यो, जुन एडुक्लेभले दियो । यसले हामीलाई ‘एजेन्ट’ बाट ‘एजुकेशन कन्सल्टेन्ट’को वास्तविक पहिचानमा स्थापित ग¥यो । ‘स्टडी इन नेपाल’ एउटा रणनीतिक प्रस्थान विन्दु हो । हामीले विश्व बजारमा नेपालको शिक्षालाई पनि बेच्न सक्छौँ भन्ने आँट गरेका हौँ ।

इक्यानको अध्यक्ष हुनु अघिको र पछिको शेषराजमा के फरक छ ?

अहिले म धेरै धैर्यवान् र सन्तुलित छु । नेतृत्वले मलाई मानिसका फरक स्वभाव र सरकारी संयन्त्रको जटिलता बुझ्ने अवसर दियो । मेरो आत्मविश्वास बढेको छ । यो दुई वर्ष मेरो लागि एक प्रकारको ‘तपस्या’ नै रह्यो ।

बिदाइको यो घडीमा आफ्ना सदस्य र टिमलाई के भन्न चाहनुहुन्छ ?

यो सफलता मेरो एक्लो होइन, हामी सम्पूर्ण इक्यान परिवारको साझा विजय हो । मेरो टिम र देशभरका सदस्यहरूको साथ बिना यो यात्रा सम्भव थिएन । म पदबाट विश्राम लिँदैछु, तर व्यावसायिक उत्तरदायित्वबाट कहिल्यै विश्राम लिने छैन । म इक्यानको एक सिपाहीको रूपमा सधैँ उपलब्ध हुनेछु ।

 

You might also like

Comments are closed.