सेन्ट्रोसँग विशालको १४ वर्ष र १ लाख १५ हजार किलोमिटरको पारिवारिक सम्बन्ध

काठमाडौं । नेपालको सडकमा साना ह्याचब्याक गाडीहरूको चर्चा चल्दा ‘हुण्डाई सेन्ट्रो’को नाम अग्रपंक्तिमा आउँछ । तर, काठमाडौं बुढानिलकण्ठका विशाल सुवेदीका लागि यो केवल एउटा गाडी मात्र होइन, उनको परिवारको एउटा अभिन्न सदस्य जस्तै बनेको छ । सन् २०१२ मा थापाथली सोरुमबाट नयाँ सेन्ट्रो खरिद गरेपछि सुरु भएको उनको यो यात्रा आज १४ वर्ष पुग्दा पनि उत्तिकै ताजा र विश्वासिलो छ ।

आवश्यकताले डोहोर्याएको यात्रा

गाडी किन्नु अघि विशाल ३५० सिसिको ‘बुलेट बाइक’ चढ्थे । तर, जब परिवारको संख्या बढ्दै गयो, सुरक्षा र सहजताका लागि उनले गाडीको आवश्यकता महसुस गरे । हुन त उनले कक्षा ७ मा पढ्दा (१२ वर्षको उमेर) देखि नै घरको मारुती गाडी चलाएर स्टेयरिङसँग साइनो गाँसिसकेका थिए । तर आफ्नै कमाइले किनेको पहिलो नयाँ गाडी ‘सेन्ट्रो’ नै बन्यो ।

प्रदर्शन र यात्रा अनुभव

बिगत १२ वर्षमा यो गाडीले १ लाख १५ हजार किलोमिटरको दुरी पार गरिसकेको छ । नेपालको भौगोलिक विविधतामा यति धेरै गुड्नु सामान्य कुरा होइन । विशालले यो गाडीमा देशभरको यात्रा गरेका छन् । यो गाडी उनको पारिवारिक सदस्य बनेको छ ।

ताप्लेजुङको पाथिभरादेखि लुम्बिनीसम्म, पहाडी क्षेत्रका डाँडापाखाहरुमा, पर्यटनको केन्द्र पोखरा हुँदै र सराङकोट, घान्द्रुक जस्ता उकालो–ओरालो सडकहरूमा सहजै गाडी गुडाएको अनुभव विशालसँग छ । नेपालका प्रायः ‘अफ–रोड’ जस्ता देखिने सडकहरूमा १ लाख १५ हजार किलोमिटर गुड्दा पनि गाडीले दिएको साथ लोभलाग्दो छ ।

भरपर्दो मेकानिकल पक्ष

विशालको अनुभवमा सेन्ट्रोको सबैभन्दा बलियो पक्ष यसको ‘इन्जिन र क्लच सिस्टम’ हो । अचम्मको कुरा त के छ भने, यति धेरै किलोमिटर गुडिसक्दा पनि अहिलेसम्म गाडीको क्लच प्लेट फेर्नुपरेको छैन । इन्जिनमा कुनै पनि समस्या नआउनु र यही साता मात्र गरिएको सर्भिसिङमा पनि गाडी दुरुस्त देखिनुले यसको ‘बिल्ड क्वालिटी’ र ‘फिचर एक्सलेन्स’लाई पुष्टि गर्दछ । समय–समयमा फेर्नुपर्ने ब्रेक प्याड, टायर लगायत सामान्य पार्टस् बाहेक उनले गाडीमा अनावश्यक खर्च गर्नुपरेको छैन ।

भावनात्मक सम्बन्ध र छोरीको माया

धेरै समय एउटै गाडी चलाएपछि विशालले एकपटक गाडी परिवर्तन गर्ने सोच पनि बनाएका थिए । तर, उनकी छोरीले यो गाडीसँग आफ्नो बाल्यकालका धेरै स्मृतिहरू जोडिएको र गाडी अझै राम्रो अवस्थामा रहेको भन्दै साट्न मानिनन् । यसले के देखाउँछ भने, एउटा राम्रो गाडी केवल मेसिन मात्र नभई भावनाको माध्यम पनि बन्दोरहेछ ।

सर्भिसिङ र कम्पनीको रेस्पोन्स

हुण्डाईको आधिकारिक डिलर र सर्भिसिङप्रति विशाल सन्तुष्ट छन् । नेपालमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडीको आयात र बिक्री वितरण गर्दै आइरहेको छ । देशभर सर्भिस सेन्टर विस्तार, सर्भिस, स्पेयर्स पार्टस्को सहजता लगायत सेवा पनि हुन्डाईको सकारात्मक पक्ष बनेको छ । कम्पनीले ग्राहकलाई गर्ने रेस्पोन्स र सर्भिसिङको गति राम्रो रहेको उनको अनुभव छ । कहिलेकाहीँ मानवीय कमजोरी हुनुलाई स्वभाविक मान्दै उनी समग्र सेवाबाट खुसी छन् ।

अब के चढ्छन् विशाल ?

‘आई लभ माइ कार’ भन्ने विशाल सुवेदीको अनुभवले सेन्ट्रोलाई नेपालका सडकका लागि एक मजबुत र विश्वासिलो साथीको रूपमा स्थापित गरेको छ । टिकाउ, कम खर्चिलो र पारिवारिक गाडीको लागि सेन्ट्रो निरन्तर विशालको सारथी बनेको छ । विशाल पेशाले बैंकर हुन् । काठमाडौंका स्थानीयसमेत रहेका विशालले चाहे भने जुनसुकै गाडीमा अपग्रेड हुन सक्छन् । तर, विशालसँग अहिले सेन्ट्रोको यात्रामा ब्रेक लगाउने कुनै सोच छ्रैन । ‘म अझै यो गाडी कुदाउँछु,’ उनी भन्छन्, ‘हेरौं अझै कति वर्ष र कति मिलोमिटरसम्म सेन्ट्रोको साथ सजिलै पाउँछु ।’

You might also like

Comments are closed.