नेपाली ग्यास्ट्रोनमी र हस्पिटालिटी क्षेत्रको मौलिक स्वाद

मास्टर शेफ श्याम लामा (वाङ)

हाल नेपाली हस्पिटालिटी क्षेत्रमा नेपाली मौलिक खानाप्रति चासो बढ्दै गएको छ । विगतमा होटल तथा रेस्टुरेन्टहरूमा विदेशी परिकारलाई प्राथमिकता दिइन्थ्यो भने आज स्थिति क्रमशः बदलिँदै गएको छ । पेशागत रूपमा संलग्न सेफहरू स्वयंले पनि नेपाली मौलिक, रैथाने तथा परम्परागत खानालाई प्राथमिकतामा राख्दै देश–विदेशमा नेपाली परिकारको लञ्चिङ गरिरहेका छन् ।

यसअघि “ग्यास्ट्रोनमी फुड” के हो, यसलाई ध्यान नदिदा पर्यटकलाई कस्तो असर पर्छ भन्ने विषयमा खासै ध्यान दिइँदैनथ्यो । खाना भनेको केवल पेट भर्ने माध्यम मात्र ठानिन्थ्यो । तर अहिले ग्यास्ट्रोनमी टुरिजमलाई पर्यटनको महत्वपूर्ण आधारका रूपमा बुझ्न थालिएको छ । ग्यास्ट्रोनमी टुरिजमसँगै ग्यास्ट्रोनमी फुडलाई अगाडि बढाउँदा त्यसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ र नेपाललाई फरक पहिचान दिन थालेको छ ।

 

ग्यास्ट्रोनमीको मूल अर्थ भनेको मानिसको भौगोलिक अवस्था, हावापानी, संस्कृति र पाचन क्षमताअनुसार खाना तयार गरी पस्किनु हो । उदाहरणका लागि, हिमाली क्षेत्रमा बस्ने व्यक्तिलाई तराईमा लैजाँदा त्यहाँको खानाले उसको शरीरलाई मिल्छ कि मिल्दैन भन्ने ख्याल गर्नुपर्छ । त्यस्तै, तराईमा बस्ने व्यक्ति हिमाली क्षेत्रमा जाँदा उसले त्यहाँको हावापानीअनुसार उपयुक्त खाना खान पाउनुपर्छ । कुन मानिसले कुन खालको खाना सजिलै डाइजेस्ट गर्न सक्छ भन्ने बुझेर खाना पस्किनु नै ग्यास्ट्रोनमीको सार हो । पेटलाई मिल्ने, स्वास्थ्यलाई अनुकूल हुने र संस्कृतिसँग जोडिएको खाना दिनु नै ग्यास्ट्रोनमी फलो गर्नु हो ।

हामीले नेपाली संस्कृति, जीवनशैली र खानपानलाई समेटेर ग्यास्ट्रोनमीलाई व्यवहारमा उतार्न थालेका र्छौ, जसले नेपाली खानाको आत्मा जोगाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान निर्माण गर्न मद्दत गरेको छ । होटल संघ नेपालसँगको सहकार्यमा सातै प्रदेशमा एडभान्स कुकिङ तालिमहरू सञ्चालन गरिएको छ । हाम्रो उद्देश्य लोकल ठाउँहरूमा पनि इन्टरनेशनल खानाको कन्सेप्ट भित्र्याउनु हो, तर त्यसको अर्थ स्थानीय खानालाई विस्थापित गर्नु होइन । बरु लोकल खानासँगै अन्य अन्तर्राष्ट्रिय परिकार पनि कसरी सन्तुलित रूपमा पस्किन सकिन्छ भन्ने कुरा सेफ र व्यवसायीहरूलाई सिकाइएको छ । यसले पर्यटकलाई विविध अनुभव दिनुका साथै स्थानीय स्वादको प्रवद्र्धन पनि गर्छ ।

होटल संघ नेपालको हिरक जयन्ती (६० औँ वर्ष) को अवसरमा हामीले ग्यास्ट्रोनमी अवधारणाअनुसार ६० वटा विशेष रेसिपी समेटिएको मेनु प्रस्तुत गर्ने योजना बनाएका छौं । यसमा केवल आधुनिक परिकार मात्र होइन, विगतमा बाँच्नका लागि खाइने परम्परागत खानाका रेसिपीहरू पनि समावेश गरिनेछन् ।

विभिन्न सांस्कृतिक समुदायका खानाका परिकारसँगै पानी रोटी, दुध रोटी, ढिँडो, जाँड–भात जस्ता परिकारहरू पनि प्रस्तुत गरिनेछन् । ती खानालाई आजको पुस्ताले सजिलै डाइजेस्ट गर्न सक्ने तरिकाले रेसिपी र प्रस्तुति परिमार्जन गरेर पस्किने छौं । अतिथिहरूलाई स्वागत गर्ने क्रममा हामीले वेलकम ड्रिंकका रूपमा झानेको मोही राख्ने परम्परालाई पनि अघि बढाएका छौं, जसले नेपाली मौलिकता झल्काउँछ ।

हिरक जयन्तीका अवसरमा हामीले सातै प्रदेशका ६० प्रकारका मौलिक तथा रैथाने नेपाली खानाका परिकार प्रस्तुत गर्ने योजना बनाएका छौं । सातै प्रदेशका लागि सातवटा छुट्टाछुट्टै स्टल रहनेछन्, जहाँ नेपालको भौगोलिक, सांस्कृतिक र स्वाद विविधता एउटै स्थानमा अनुभव गर्न सकिनेछ ।

यस प्रयासको मूल उद्देश्य भनेको नेपाली ग्यास्ट्रोनमीलाई पर्यटनको बलियो आधार बनाउँदै नेपाली खानालाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान दिनु हो । यसले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको उपयोग, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षण—सबै पक्षमा सकारात्मक योगदान पु¥याउने हाम्रो विश्वास छ ।

 

You might also like

Comments are closed.