ललितपुर । ग्लोकल प्रा. लि. को एक इकाई ‘ग्लोकल आफ्टर स्कूल’को आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’ को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ ।
प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो । जनवरी ११ देखि १९ सम्म सञ्चालित यस कार्यक्रमले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राखेको थियो ।
यस वर्षको समापन समारोहमा आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई ‘स्किल हिरो अवार्ड २०२६’बाट सम्मानित गरिएको छ । ‘पर्यटन तथा आतिथ्य’ विधामा सिल्क आर्टिसनल क्रिमरीका संस्थापक ऋषभ अग्रवाल, ‘कला र संस्कृति’ मा प्रसिद्ध फोटोग्राफर किशोर कायस्थ, र ‘उद्यमशीलता’ विधामा मक्कुसेकी संस्थापक तथा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ सम्मानित भएका छन् ।
त्यसैगरी, ‘विज्ञान र प्रविधि’ विधामा बाइटकेयर टेक्नोलोजीका संस्थापक समीर फुयाँल र ‘प्रशिक्षुता’ (Apprenticeship) विधामा सोनाम नेम्वाङलाई अवार्ड प्रदान गरिएको छ । ‘स्किल विक’ अन्तर्गत माघ २ गते (जनवरी १६) पुल्चोकस्थित एम्बार्क कलेजमा ‘स्किल फेस्ट’ आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए ।
सोही दिन ‘सिइओ अनप्लग्ड’ को ११ औँ संस्करण पनि सम्पन्न भयो, जहाँ ‘टुडे मिट्स टुमरो’ भन्ने नाराका साथ सौरभ ज्योति, संजय गोल्छा र आँचल कुँवर लगायतका व्यक्तित्वहरूले भविष्यको बजारमा सिपको महत्त्वबारे प्यानल छलफल गरेका छन् । उद्योग, शिक्षा र सरकारसँग सहकार्य गर्दै सिप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमलाई एम्बार्क कलेजले सशक्तिकरण गरेको थियो ।
कार्यक्रमलाई युरोपियन युनियन, भारतीय दूतावास, अष्ट्रेलियाली सरकार, युएई दूतावास, होण्डा, एनसेल, युएनडिपी र ब्रिटिश काउन्सिल लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सहयोग पुर्याएका थिए । ‘स्किल विक’ ले परम्परागत शिक्षा र व्यावहारिक सिपबीचको खाडललाई कम गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।




Comments are closed.