काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगमले पेट्रोल, डिजेलसहितका पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा विशेष तयारी थालेको छ । सरकारी अधिकारीहरुका अनुसार निर्वाचनको समय नजिकिँदै जाँदा करिब १० दिनभित्र इन्धनको खपत औसतभन्दा २० देखि २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
नेपाल आयल निगमका अनुसार चाडपर्वको समयमा जस्तै निर्वाचन अवधिमा पनि सवारी आवागमन, प्रचार–प्रसार तथा प्रशासनिक गतिविधि बढ्ने भएकाले इन्धन खपत ह्वात्तै बढ्ने गर्दछ । यही अवस्थालाई ध्यानमा राख्दै निगमले देशभरका डिपोहरुलाई पर्याप्त इन्धन भण्डारण गर्न निर्देशन दिने तयारी गरेको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निर्वाचन अवधिमा बजारमा इन्धनको अभाव नहोस् भन्ने उद्देश्यले आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । उनका अनुसार निर्वाचनको आसपासमा केही दिन सीमावर्ती नाकाहरु बन्द हुन सक्ने भएकाले त्यसअनुसार भण्डारण र आपूर्ति व्यवस्थापन गरिनेछ ।
“चुनाव निश्चित भइसकेको छ । त्यस अवधिमा बजारमा कुनै समस्या नआओस् भनेर सबै डिपोहरुलाई पर्याप्त स्टक राख्न निर्देशन दिँदैछौँ,” कार्यकारी निर्देशक भट्टले भने ।
निगमका अनुसार हाल दैनिक औसत पेट्रोलको खपत करिब २०–२५ लाख लिटर र डिजेलको खपत ३८–४० लाख लिटर रहेको छ । निर्वाचनको १० दिनअघि मात्रै इन्धन खपतमा २०–२५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । सोही आधारमा इन्धनको स्टक व्यवस्थापन गरिने निगमले जनाएको छ ।
चुनावका बेला सीमा नाकाहरु आंशिक रुपमा बन्द हुन सक्ने भएकाले आयल निगम यसअघि नै सचेत रहेको भट्टले बताए । उनका अनुसार निगमसँग रहेका करिब १७–१८ सय ट्याङकरलाई पूर्ण रुपमा परिचालन गरी ट्याङकरमै समेत इन्धन स्टक राखिनेछ ।
“२–४ दिन नाका बन्द भए पनि बजारमा इन्धनको अभाव नहोस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ,” उनले भने । कुन नाकाबाट कति मात्रामा इन्धन ल्याउने र कति स्टक राख्ने भन्ने विषयमा यसैसाता निगमले निर्णय गर्ने जनाएको छ ।
नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्तिको जिम्मेवारी नेपाल आयल निगमले लिँदै आएको छ । निगमले इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल, डिजेल, हवाई इन्धन तथा ग्यास आयात गर्दै आएको छ । हाल उपभोक्ताले मोबाइलमार्फत भुक्तानी गरेर समेत इन्धन खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
यसैबीच, निगमले भण्डारण क्षमता विस्तारको कामलाई तीव्र बनाएको छ । दुई वर्षअघि पेट्रोल ८ दिन र डिजेल १२ दिनसम्म मात्र धान्न सक्ने क्षमता रहेकोमा अमलेशगञ्जमा १४ हजार केएलका चारवटा ट्याङ्की निर्माण गरिएको छ । पोखरामा १० हजार केएल क्षमताको ट्याङ्की सञ्चालनमा आइसकेको छ भने विराटनगर र नेपालगञ्जका ट्याङ्कीहरु पनि प्रयोगमा ल्याइँदै छन् ।
हाल निगमसँग डिजेल करिब १४ दिन र पेट्रोल १२ दिनसम्म भण्डारण गर्ने क्षमता रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।
इन्धन पाइपलाइन विस्तारको काम पनि तीव्र गतिमा अघि बढाइएको छ । मोतिहारी–अमलेशगञ्ज पाइपलाइन सञ्चालनमा आइसकेको छ । सुरुमा डिजेल मात्र पाइपलाइनबाट ल्याइए पनि हाल पेट्रोल र मट्टीतेलसमेत पाइपलाइनमार्फत आयात भइरहेको छ ।
पाइपलाइन प्रयोग गर्दा ढुवानी खर्च घटेकाले उपभोक्तालाई प्रतिलिटर करिब २ रुपैयाँसम्म इन्धन सस्तो पर्न गएको निगमको भनाइ छ । आगामी दिनमा अमलेशगञ्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन योजना कार्यान्वयनमा आएपछि प्रतिलिटर साढे ३ रुपैयाँसम्म लागत घट्ने अपेक्षा गरिएको छ ।
आयल निगमले आगामी तीन वर्षभित्र पाइपलाइन र भण्डारण संरचना पूर्ण गर्ने लक्ष्य लिएको छ । साथै, हवाई इन्धनसमेत पाइपलाइनमार्फत आयात गरी भण्डारण तथा वितरण गर्ने तयारी भइरहेको निगमले जनाएको छ ।




Comments are closed.