ब्रिटिस काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ को १० वर्ष पूरा

काठमाडौं । ब्रिटिस काउन्सिलले आफ्नाे ‘कल्चरल प्रोटेक्सन फन्ड’ स्थापना भएको १० वर्ष पूरा भएको अवसरमा खुशी व्यक्त गर्दै सांस्कृतिक सम्पदा संरक्षणप्रतिको दीर्घकालीन प्रतिबद्धता दोहोर्‍याएको छ । नेपालसहित विश्वका १९ देशमा द्वन्द्व, जलवायु परिवर्तन तथा अन्य जोखिमका कारण संकटमा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि फन्डले निरन्तर महत्वपूर्ण काम गर्दै आएको काउन्सिलले जनाएको छ ।

सन् २०२२ देखि कल्चरल प्रोटेक्सन फन्डले नेपालमा इतिहास, पहिचान र सामाजिक एकताको आधारका रूपमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण तथा समुदाय सशक्तिकरणका लागि सहयोग पुर्‍याउँदै आएको छ । फन्डमार्फत नेपालका विभिन्न भूभागमा स्थानीय समुदायको सक्रिय सहभागितामा उल्लेखनीय पहलहरू सञ्चालन भएका छन् ।

नेपालमा लोपोन्मुख कुसुन्डा भाषा पुनर्जीवनका प्रयास, महिलाको नेतृत्वमा मैथिल कलाको सृजनात्मक पुनरुत्थान, डोल्पाका हिमाली गुम्बाहरूको संरक्षण, तथा गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण संकटमा परेका आदिवासी समुदायको खाद्य परम्परालाई दस्तावेजीकरण गर्दै संरक्षण गर्ने कार्य फन्डका प्रमुख उपलब्धिमध्ये पर्दछन् ।

यसैगरी, बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजियममार्फत संग्रहालयमा संकलित सामग्री र मौखिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि व्यवसायिक व्यक्तिलाई तालिम प्रदान गरिएको छ । पाकिस्तानमा इन्दुस डेल्टाको समुद्री सम्पदा र हजारा समुदायको शिल्पकलाको संरक्षण, स्वात उपत्यकामा बुद्धका मूर्तिहरूको पुनर्स्थापना, ऐतिहासिक सिल्क रोडका संरचनाको मर्मत तथा कराँचीको खालिक्दिना हललाई जीवन्त सांस्कृतिक केन्द्रका रूपमा पुनःस्थापना गर्न सहयोग गरिएको छ ।

ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले आम नागरिकको तहमा गरिने लगानीमार्फत कल्चरल प्रोटेक्सन फन्डले सम्पदा संरक्षणप्रतिको दीर्घकालीन प्रतिबद्धता उजागर गरेको बताए । उनका अनुसार यस पहलले नेपालभर सांस्कृतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि नयाँ अवसर सिर्जना गर्दै उनीहरूको सीप विकास र सञ्जाल निर्माणमा सहयोग पुर्‍याइरहेको छ ।

समुदाय केन्द्रित यस्ता कार्यक्रमहरूले समुदायको पुनर्लाभ, उत्थानशीलता र नवीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। यस्ता पहलहरूले समुदायलाई आफ्नै सांस्कृतिक पहिचानमा आधारित भई भविष्य निर्माण गर्न समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कल्चरल प्रोटेक्सन फन्ड अन्तर्गत सन् २०२६ जनवरी २० देखि २३ तारिखसम्म नेपालका विभिन्न भागबाट प्रतिनिधित्व गर्ने सम्पदा क्षेत्रका ३३ जना व्यवसायिक व्यक्तिका लागि क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरिएको छ। कार्यशालामा सम्पदा आयोजना व्यवस्थापन, सञ्जाल निर्माण, संस्थागत पूर्वतयारी लगायत विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

यस कार्यक्रमले नेपाल तथा विश्वभरका सांस्कृतिक सम्पदा अभ्यासकर्ताबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलहरूमा प्रभावकारी सहभागिता जनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कल्चरल प्रोटेक्सन फन्ड संयुक्त अधिराज्य (युके) सरकारको पहलमा सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय कार्यक्रम हो। युकेको संस्कृति, मिडिया तथा खेलकुद विभागको साझेदारीमा ब्रिटिस काउन्सिलको नेतृत्वमा सञ्चालित यस फन्डले हालसम्म २० देशमा १६० भन्दा बढी परियोजनामार्फत समुदाय सशक्तिकरण र सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको छ।

You might also like

Comments are closed.