बालोदयमा विद्यार्थी सम्मान सहित इन्टेलेक्ट स्फेयर कार्यक्रम सम्पन्न

पोखरा । बालोदय सेकेन्डरी स्कुल बिरौटामा विविध कार्यक्रमका साथ बालोदय इन्टेलेक्ट स्फेयर (Balodaya Intellect Sphere) – २०८२ कार्यक्रम सम्पन्न भएको छ।  विद्यालयका संस्थापक प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीको अध्यक्षता, पोखरा महानगरपालिका, शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा शैक्षिक प्रदर्शनी, पुस्तक मेला, विद्यार्थी, सम्मान, छात्रवृति वितरण तथा प्रेरणादायी व्यक्तित्वहरू विद्यार्थीहरु बीच अन्तरसंवाद जस्ता विधाहरू समेटिएका थिए ।

कार्यक्रममा लोकगायिका तथा गीत, सङ्गीत र साहित्यकी त्रिवेणी हरिदेवी कोइराला र खल्ती एप का पूर्व चिफ टेक्नोलोजी अफिसर तथा सनफ्लावर स्पेक्ट्रमका फाउन्डर, प्राविधिज्ञ एवम् सामाजिक व्यक्तित्व यसै विद्यालयका पूर्व विद्यार्थी ध्रुव अधिकारीसँगको विद्यार्थीहरुले गरेको अन्तरसंवाद सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकका लागि थप उत्प्रेरणात्मक सङ्गीतमय एवम् मनोरञ्जनात्मक थियो। विद्यार्थीद्वारा निर्माण गरिएका STEAM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) मा आधारित शिक्षण सामग्रीहरुको प्रदर्शन तथा बुकमार्ट पोखरासँगको समन्वयमा संचालित पुस्तक मेला, सरस्वति वन्दनासहितको नृत्य, भजन लगायत विविध साँस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका थप आकर्षणका रुपमा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा महाशाखा पोखराका निर्देशक हेम प्रसाद आचार्यले विद्यालयले समयको माग र विद्यार्थीको आवश्यकता एवम् रुचिलाई ध्यानमा राखी विद्यार्थीमैत्री,  प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेकोमा खुशि व्यक्त गर्दै विद्यालयको थप सफलताको लागि शुभकामना दिए ।

सोही कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) – २०८१ मा सर्वोत्कृष्ट ४.०० जी. पी. ए. प्राप्त गर्ने इशिभा पौडेल र दिप्सन ढकाललाई विद्यार्थीलाई जनही नगद रु २५ हजार,  ३.९६ जी. पी. ए. प्राप्त गर्ने सरुना सुवेदी र जिज्ञासा बराललाई जनही रु १५ पन्ध्र हजार, ३.९२ जी. पी.ए. प्राप्त गर्ने प्रेक्षा भण्डारी तथा ३.९१ जी. पी.ए. प्राप्त गर्ने अग्रिम पौडेल, विकल न्यौपाने र प्रमिश पौडेललाई जनही रु १० हजार एवम् राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को वार्षिक परीक्षा – २०८१ मा ३.८४ जी. पी. ए. हासिल गर्ने विनिता पौडेललाई नगद रू १० हजार प्रदान गर्नुका साथै विद्यालयभित्र र बाहिर संचालित विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा निरन्तर सहभागी भएर विविध पुरस्कार प्राप्त गरी विद्यालयको गरिमालाई बढाउने दुई जना इशिभा पौडेल र एलिशा भुषाललाई जनही रु १० हजार दशहजार तथा सबै सम्मानित विद्यार्थीहरुलाई सम्मान पत्र एवम् खादाले सम्मान गरेका हुन् ।

त्यसैगरी कक्षा १ देखि १० सम्म तृतीय त्रैमासिक परीक्षा र कक्षा ११ र १२ मा द्वितीय त्रैमासिक परीक्षामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरियो । यसका साथै नेपाली विषय विभाग प्रमुख टंकप्रसाद पौडेलले विद्यार्थी हरुलाई रुचि र उत्साह जगाउन एस.ई.ई. मा आफूले अध्यापन गराउने नेपाली विषयमा सर्वोत्कृष्ट ग्रेड (A+) प्राप्त गर्ने विद्यार्थीहरूलाई जनही रु दुई हजार एक सय र सर्वोत्कृष्ट ४.०० जी.पी.ए. प्राप्त गर्ने विद्यार्थीलाई रु पाँच हजार एकसय रुपैयाले सम्मान गरे ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभाध्यक्ष तथा प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीले सभ्य र भव्य कार्यक्रममा उपस्थित तथा कार्यक्रमलाई सफल पार्न भूमिका खेल्नुहुने सम्पूणलाई धन्यवाद दिए ।

विद्यार्थीहरूको बहुमुखी प्रतिभालाई उजागर गरी उत्प्रेरणा गर्दै सिकाईलाई दिगो एवम् व्यवहारिक बनाउने उद्देश्यले विविध कार्यक्रमका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य टेकनाथ पौडेलले स्वागत मन्त्व्य राख्नुभएको थियो भने १०+२ संयोजक टंकप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

You might also like

Comments are closed.