काठमाडौं । नेपाली युवाको नवप्रवर्तन क्षमता उजागर गर्ने उद्देश्यसहित आइसिटी फ्रेम (ICT Frame) ले टेक-एक्स (TechX) सँगको सहकार्यमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ (ITPCA 2026) आयोजना गर्ने घोषणा गरेको छ। कार्यक्रमलाई टेक ब्लगर्स एसोसिएसन अफ नेपाल ले सहयोग गर्नेछ।
“नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नारासहित आयोजना हुने यो प्रतियोगिता शनिबार, २ मे २०२६ (१९ वैशाख २०८३) मा सम्पन्न हुनेछ। यसमा देशभरका स्नातक विद्यार्थी, स्वतन्त्र विकासकर्ता तथा नवप्रवर्तकहरूले आफ्ना आईटी परियोजना प्रस्तुत गर्न पाउनेछन्।
कार्यक्रमको उद्घाटन लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरु ले गर्नुभएको गरेका हुन् । उनले परियोजनामा आधारित शिक्षाले विद्यार्थीलाई उद्योगमैत्री बनाउने बताउँदै, यस्ता कार्यक्रमले युवालाई आत्मविश्वासी प्रविधि नेतृत्वतर्फ अघि बढाउने उल्लेख गरे ।
यस प्रतियोगिताको अवधारणात्मक ढाँचा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी ले तयार पार्नुभएको हो। उहाँका अनुसार परियोजनाहरूको मूल्याङ्कन नवप्रवर्तन, उपयोगिता, प्रभाव र दीर्घकालीन सम्भावना का आधारमा गरिनेछ, जसले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको वास्तविक बजारसँग जोड्नेछ।
प्रविधि क्षेत्रमा सक्रिय युवाहरूले प्रतियोगितालाई अवसरका रूपमा लिएका छन्। टेक राज अवस्थीले यसलाई मौलिक सोचलाई उद्योगसँग जोड्ने मञ्च भनेका छन् । मेघा मण्डलका अनुसार अब विद्यार्थी प्रोजेक्ट ग्रेडका लागि मात्र नभई दिगो समाधानका लागि बन्नेछन् ।
विशेष जंग नेपाली, रियोना ढुंगेल र कुशल पाण्डे ले यो प्रतियोगिता भूगोल वा शैक्षिक सीमाभन्दा माथि उठेर सबै सक्षम नेपाली युवालाई राष्ट्रिय पहिचान दिने समावेशी मञ्च हुने विश्वास व्यक्त गरेका छन् ।
आइसिटी फ्रेम र टेक-एक्सको सहकार्यले यो प्रतियोगिता नेपाली डिजिटल इकोसिस्टमका लागि ‘लन्चप्याड’ बन्ने अपेक्षा गरिएको छ । यसले भविष्यका लागि तयार आईटी पुस्ता उत्पादन गर्दै नेपालको डिजिटल रूपान्तरणमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
प्रतियोगितामा सहभागिता, विषयवस्तु तथा निर्णयका मापदण्डसम्बन्धी विस्तृत जानकारी आइसिटी फ्रेमको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।




Comments are closed.