महोत्सवमा खानाको प्रवर्द्धनमा जिल्ला होटल संघको सहकार्य

सुरेश बराल, अध्यक्ष, जिल्ला होटल संघ, काठमाडौं

प्रथम काठमाडौं महोत्सवमा सहकार्य गर्न पाउँदा जिल्ला होटल संघ, काठमाडौंको तर्फबाट खुसी व्यक्त गर्न चाहन्छु । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको आयोजनामा हुन गइरहेको यो महोत्सव काठमाडौंको भृकुटीमण्डपमा माघ १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।महोत्सवअन्तर्गत सञ्चालन हुने फुड कोर्टमा नेपाली मौलिक तथा रैथाने खानाको विशेष व्यवस्था गरिनेछ । फुड कोर्टमा थारु, लिम्बु र नेवारी समुदायका परम्परागत परिकारहरू राखिनेछन् । यहाँ कोदोको मोमो, सिस्नोको मोमो लगायत अन्य स्थानीय तथा रैथाने खानाका विविध परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ ।

फुड कोर्टमार्फत विभिन्न जाति र समुदायको कला, संस्कृति र जीवनशैली झल्किने रैथाने खानाको प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौं । यसले लोपोन्मुख बन्दै गएका स्थानीय खानाको संरक्षण गर्नुका साथै उपभोक्तालाई नेपाली मौलिक स्वाद र परम्परागत परिकारसँग पुनः जोड्ने विश्वास लिएका छौं । खानासँगै फुड कोर्ट क्षेत्रमा लिम्बु समुदायको च्याप्रु नाच र धान नाच, साथै शेर्पा समुदायको स्याप्रु नाच लगायत विभिन्न जातीय कला–संस्कृतिको प्रदर्शन पनि गरिनेछ । यस्ता सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई केवल व्यापारिक मेला मात्र नभई नेपाली पहिचान, सांस्कृतिक विविधता र सामाजिक सद्भावको उत्सवका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

जिल्ला होटल संघ, काठमाडौंको सक्रिय सहभागितामा सञ्चालन हुने फुड कोर्टले स्वदेशी खानाको प्रवद्र्धन, पर्यटन आकर्षण वृद्धि र स्थानीय व्यवसाय सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ ।

You might also like

Comments are closed.