काठमाडौं महोत्सव : उत्पादन र संस्कृतिको प्रवर्द्धन

दुर्गाराज श्रेष्ठ, महासचिव, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंद्वारा पहिलो पटक आयोजना हुन लागेको प्रथम काठमाडौं महोत्सव एवं वृहत प्रदर्शनीलाई भव्य र ऐतिहासिक बनाउन हामी अहोरात्र खटिएका छौं । विशेष गरी काठमाडौंबासी र यहाँका उद्योगी व्यवसायीहरूको सकारात्मक साथ, समर्थन र सहयोगले हामीलाई यो महोत्सव सफल पार्न ठूलो प्रेरणा मिलेको छ ।

महोत्सवको सबैभन्दा सबल पक्ष भनेको स्थानीय सरकारको पूर्ण साथ हो । काठमाडौं महानगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहहरूको सहयोग हाम्रा लागि अविस्मरणीय छ । स्थानीय सरकारले यस कार्यक्रमलाई जसरी अपनत्व प्रदान गरेको छ, यसले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई थप सबल बनाउन योगदान गरेको हामीले महसुस गरेका छौं ।

महोत्सवमा काठमाडौंका ३२ वटै वडाका विशेष उत्पादनहरू बिक्री तथा प्रदर्शनीमा राखिनेछ । विशेषगरी महानगरपालिकाले स्थानीय उद्यमीहरूलाई तालिम दिएर उत्पादन गरेका वस्तुहरूलाई हामीले उच्च प्राथमिकताका साथ स्टलहरू उपलब्ध गराएका छौं । यसबाट वस्तुको प्रवर्द्धन मात्र हुने छैन, स्थानीय सीप, कला र उद्यमशीलताले उचित बजार पहुँच समेत पाउनेछ । उद्यमी बन्न चाहनेहरुलाई पनि प्रेरणा मिल्नेछ ।

माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महोत्सवको मुख्य उद्देश्य काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई विश्वमाझ चिनाउनु हो । यसले विशेषगरीः घरेलु तथा साना उद्योग र स्टार्टअपहरूलाई व्यावसायिक नेटवर्किङ र दृश्यता प्रदान गर्नेछ । २०० भन्दा बढी अत्याधुनिक स्टलहरू रहनेछन्, जहाँ राष्ट्रिय र स्थानीय उत्पादनहरूको प्रदर्शनी हुनेछ । रैथाने खानाको प्रतियोगिता र फुड फेस्टिभलमार्फत हाम्रा मौलिक स्वादहरूको प्रवद्र्धन गरिनेछ । बहुआयामिक गतिविधिहरू अन्तर्गत कन्सर्ट, लाइभ म्युजिक, कला-संस्कृतिका झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, र स्वास्थ्य शिविर जस्ता गतिविधिले मेलालाई उत्सवमय बनाउनेछ ।

चार दिनसम्म चल्ने महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेका छौं । यो केवल एउटा व्यापारिक मेला मात्र नभई काठमाडौंको मौलिकता, उद्यमशीलता र आर्थिक समृद्धिको साझा मञ्च पनि हो । तसर्थ, सम्पूर्ण उद्योगी, व्यवसायी र सर्वसाधारण महानुभावहरूलाई यस ऐतिहासिक उत्सवमा सहभागी भई स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा टेवा पु¥याउन हार्दिक निमन्त्रणा गर्दछु ।

You might also like

Comments are closed.