आजबाट प्रथम काठमाडौं महोत्सव : व्यवसायीको मनोबल उकास्ने प्रयास

पछिल्ला राजनीतिक तथा सामाजिक उतारचढावपछि निजी क्षेत्रको मनोबल केही खस्किएको समयमा राजधानी काठमाडौँमा आयोजना हुन लागेको ‘काठमाडौैं महोत्सव २०८२’ ले सुस्ताएको अर्थतन्त्रमा नयाँ ऊर्जा भर्ने विश्वास दिलाएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा, काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.को सहआयोजनामा महोत्सव हुन लागेको हो । माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको यो महोत्सवलाई संघले राजधानीमा पहिलोपटक आयोजना गर्न लागेको हो । महोत्सवले स्थानीय उत्पादन, साना तथा घरेलु उद्योग, स्टार्टअप, हस्तकला, पर्यटन, कला–संस्कृति र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यवसायीहरूमा पुनः उत्साह भर्नको लागि काठमाडौं महोत्सव आयोजना गरिएको संघका अध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन र उद्यमशीलताको प्रवद्र्र्धनमा टेवा पु¥याउने उनले बताए । ‘लघु, घरेलु, साना तथा मझौला उद्योगलाई आफ्ना उत्पादनको बजारीकरणमा महोत्सव उपयोगी हुनेछ । यसले काठमाडौं जिल्लाको आर्थिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउनेछ,’ उनले भने ।

देशको राजनीतिक अस्थिरता र सामाजिक घटनाक्रमका कारण निजी क्षेत्र निराश बनेको अवस्थामा निजी क्षेत्रमा उत्साह ल्याउन महोत्सव सफल हुने मेलाका संयोजक उज्ज्वल जंग शाहले विश्वास व्यक्त गरे । ‘व्यवसायीमा पुनः उत्साह भर्न र अर्थतन्त्र चलायमान बनाउन काठमाडौँ महोत्सव हाम्रो पहल हो,’ उनले भने ।

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा २०० भन्दा बढी व्यावसायिक स्टल रहनेछन् । स्वदेशी औद्योगिक उत्पादन, हस्तकला, कृषि उत्पादन र मेसिनरी, कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स, फर्निचर, सूचना प्रविधि, बैंक तथा वित्तीय सेवा, बीमा, स्वास्थ्य, सौन्दर्य, रियल स्टेट, निर्यात–आयात, ट्राभल तथा टुर सेवा लगायतका विविध क्षेत्रका प्रदर्शकहरू आफ्नो उत्पादन प्रदर्शन गर्नेछन् ।

महोत्सवमा करिब १ लाखभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ । साना उद्यमी र स्टार्टअपलाई प्रत्यक्ष उपभोक्तासँग जोड्दै ब्रान्ड दृश्यता, बिक्री र लगानीको अवसर प्रदान गर्ने हुनेछ । महोत्सवले काठमाडौं महानगरपालिकाको ‘एक वडा – एक नमुना उत्पादन’ अवधारणालाई समर्थन गर्दै स्थानीय उत्पादनको बजार पहुँच बढाउने, मूल्य अभिवृद्धि र रोजगारी सिर्जनामा योगदान पु¥याउने उद्देश्य राखेको छ ।

महोत्सव केवल व्यापारिक केन्द्रमा सीमित नरही कला, संस्कृति र मनोरञ्जनको साझा प्लेटफर्म बन्ने संघका महासचिव दुर्गाराज श्रेष्ठ बताउँछन् । ‘महोत्सव कला, संस्कृति र मनोरञ्जनको संगमस्थल बन्नेछ,’ उनले भने ।

काठमाडौं महोत्सव नेपाली कला र संस्कृतिको जगेर्ना र प्रवद्र्धनको प्रमुख स्थल बन्ने महोत्सव सहसंयोजक तेन्जिङ शेर्पा बताउँछन् । महोत्सव अवधिभर सांस्कृतिक झाँकी, लाइभ म्युजिक, चर्चित कलाकारहरूको कन्सर्ट, फेसन शो, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । महोत्सवमा नेपालका चर्चित गायक–गायिका र कलाकारहरू आनन्द कार्की, अमृत क्षेत्री, अमृता लिम्बू, दिपक लिम्बू, प्राश्ना शाक्य, खुमन अधिकारी, रेखा शाह, इन्द्रकला राई, कमल खत्री, निशा देशार, भिम लिम्बु, बिनोद ढकाल, रबिन महर्जन, अमुक लामा, पुर्वी मगर, एआरके डान्सर लगायतको प्रस्तुति रहनेछ । बिनय कार्की थुंगा ब्यान्डको लाइभ म्युजिक र आईआईएफटीद्वारा प्रस्तुत विशेष फेसन शो महोत्सवको मुख्य आकर्षणका रूपमा रहनेछन् ।

व्यवसायसँगै निःशुल्क स्वास्थ्य शिविर, फोटोग्राफी स्पट, बालबालिकाका लागि किड–जोन समेत समावेश गरिएको छ, जसले परिवारसहितका दर्शकलाई आकर्षित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

महोत्सवको उद्घाटन अवसरमा बसन्तपुरदेखि भृकुटीमण्डपसम्म प्रचारात्मक झाँकी र ¥याली आयोजना हुनेछ । उद्घाटन कार्यक्रम बिहान ९ बजे कुमारी घरमा पूजा, ९ः३० बजे ¥याली र ११ बजे भृकुटीमण्डपमा औपचारिक उद्घाटन गरिनेछ । महोत्सव दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

यस प्रकारका बहुआयामिक व्यापार मेलाले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने नेपाल वितरक संघका अध्यक्ष एवं संघका वाणिज्य तथा आपूर्ति समिति सभापति प्रेमहरि मैनाली बताउँछन् । ‘यस्ता मेलाले रोजगारी सिर्जना, लगानी प्रवद्र्धन, बजार पहुँच विस्तार, र व्यापारिक नेटवर्किङमा योगदान पु¥याउँछ,’ उनले भने । विशेष गरी स्टार्टअप र साना उद्यमीहरूले आफ्नो उत्पादनलाई प्रत्यक्ष ग्राहकसँग जोड्न पाउने, नयाँ लगानीकर्ता भेट्ने, र अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् ।

दर्शक वर्गमा सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड लभर्स तथा कला–संस्कृति प्रेमी समावेश हुने छन् । महोत्सवले व्यापार र मनोरञ्जनलाई एउटै प्लेटफर्ममा जोड्दै सुस्ताएको बजारमा नयाँ आशा र उत्साह भर्नेछ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले यो महोत्सवलाई स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, साना उद्यमी र स्टार्टअपलाई व्यावसायिक अवसर प्रदान गर्ने र कला, संस्कृति तथा पर्यटन प्रवद्र्र्धनमा बल पुर्याउने एकीकृत मञ्चको रूपमा प्रस्तुत गरेको छ । यसले राजधानी काठमाडौँलाई व्यावसायिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले बलियो र समृद्ध बनाउने लक्ष्य राखेको छ ।

‘यो महोत्सवमा आउनु केवल घुमघाम मात्र होइन, तपाईंको भ्रमणले हाम्रा उद्यमीहरूको मनोबल उच्च बनाउँछ र अर्थतन्त्रलाई ऊर्जा दिन्छ, संयोजक शाह भन्छन् । चार दिनसम्म चल्ने महोत्सवले व्यापार, मनोरञ्जन, कला, संस्कृति, पर्यटन र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्दै सुस्ताएको बजारमा नयाँ उत्साह भर्ने विश्वास गरिएको छ ।

प्रथम काठमाडौं महोत्सवले स्थानीय उत्पादनको ब्रान्ड मूल्य वृद्धि, रोजगार सृजना, व्यावसायिक नेटवर्किङ, उपभोक्ता–उत्पादक सिधा सम्बन्ध र पर्यटन प्रवद्र्र्धन जस्ता बहुआयामिक अवसर सिर्जना गर्दै राजधानी काठमाडौंलाई आर्थिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले एक नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.