काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारण सभा बुधबार हेटौडास्थित होटेल एभोकाडोमा सम्पन्न भएको छ ।
साधारण सभामा कम्पनीका अध्यक्ष अजयकुमार मिश्रले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले संस्थाले हालसम्म गरेका प्रमुख उपलब्धि, वित्तीय प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी गराए ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृतिका लागि प्रस्तुत गरिएकोमा सर्वसम्मतिले पारित गरिएको छ ।
त्यसैगरी, वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई समेत सर्वसम्मत रूपमा अनुमोदन गर्दै बाँकी कार्यहरू अगाडि बढाउन आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकका रूपमा आरएसएम एण्ड एसोसियट्सलाई नियुक्त गर्ने निर्णय पनि सर्वसम्मत रूपमा गरेको छ ।




Comments are closed.