काठमाडौं महोत्सवमा अवलोकनकर्ताको आकर्षण, आज तेस्रो दिन

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) को आयोजनामा भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘काठमाडौं महोत्सव २०८२’ जारी छ । महोत्सव आज शुक्रबार तेस्रो दिनका कार्यक्रम जारी रहनेछ । शुक्रबार सहिद दिवसको बिदा परेकाले पनि दर्शकको उपस्थिति उल्लेख्य हुने आयोजकको विश्वास छ ।

बिहीबार दोस्रो दिनसम्म महोत्सवमा दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको संघका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए । स्वदेशी तथा विदेशी उत्पादन, महिला उद्यमीहरूद्वारा उत्पादित सिपमूलक वस्तु, ‘एक वडा–एक उत्पादन’ अवधारणाअन्तर्गतका सामग्री, हस्तकला, कृषि तथा घरेलु उद्योगका उत्पादनप्रति दर्शकहरूको विशेष आकर्षण देखिएको छ । महोत्सवमा सहभागी प्रदर्शकहरूले प्रत्यक्ष बिक्री, व्यावसायिक नेटवर्क विस्तार तथा नयाँ बजारको सम्भावना देखिएको छ । विशेष छुट तथा अफरका कारण दोस्रो दिन उल्लेखनीय कारोबारसमेत भएकोे छ ।

दुई दिनमा ३० हजार जनाले महोत्सव अवलोकन गरेको संयोजक उज्ज्वल जंग शाहले जानकारी दिए । ‘दोस्रो दिन काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट आएका अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति थियो,’ उनले भने, ‘शुक्रबार र शनिबार उपस्थिति अझै बढ्नेछ ।’

रैथाने खानाका परिकार, सांस्कृतिक झाँकी, लोकनृत्य, संगीत तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू महोत्सवका प्रमुख आकर्षण बनेका छन् । दोस्रो दिनको सहभागिताले महोत्सवको उद्देश्य सही दिशामा अघि बढिरहेको साथै स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको छ । चार दिनसम्म सञ्चालन हुने यस महोत्सवका आगामी दिनहरूमा थप सांस्कृतिक कार्यक्रम, व्यवसायिक अन्तरक्रिया तथा विशेष गतिविधिहरू आयोजना गरिने छ ।

You might also like

Comments are closed.