प्रथम काठमाडौँ महोत्सव आज सकिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘प्रथम काठमाडौँ महोत्सव २०८२’ आज शनिबार समापन हुने भएको छ । राजधानीमा पहिलो पटक आयोजना गरिएको महोत्सवलाई आज अवलोकन गर्न सकिनेछ । महोत्सवमा उपस्थित भएर अवलोकन गर्नका लागि सम्पूर्णमा आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले आग्रह गरेका छन् ।

काठमाडौंमा यसअघि पनि विभिन्न मेला तथा महोत्सव आयोजना हुँदै आएपनि काठमाडौं महोत्सवको अवधारणा, प्रस्तुतीकरण र विविधताका कारण यसले पृथक पहिचान बनाउन सफल भएको उनले बताए । ‘हामीले महोत्सवलाई केवल व्यापारिक मेलामा सीमित राखेनौं,’ उनले भने, ‘स्थानीय तहका उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवासम्म एउटै थलोमा प्रस्तुत गरेका छौँ, जसले दर्शक र उपभोक्तालाई नयाँ अनुभव दिएको छ ।’

स्थानीय उत्पादन, साना तथा घरेलु उद्योग, स्टार्टअप, हस्तकला, पर्यटन, कला–संस्कृति र उद्यमशीलताको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको महोत्सवले अपेक्षा गरिएभन्दा बढी दर्शकको आकर्षण बटुल्न सफल भएको महासचिव दुर्गाराज श्रेष्ठले बताए ।

महोत्सवमा सहभागी व्यवसायी, उद्यमी तथा स्टार्टअपहरूले पनि राम्रो व्यापारिक अवसर पाएका छन् । यसले दीर्घकालीन रूपमा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ ।

पछिल्लो समय देशको अर्थतन्त्र सुस्ताएको अवस्थामा यस्ता महोत्सवहरूले बजारमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।

महोत्सवका संयोजक उज्ज्वल जंग शाहका अनुसार महोत्सवमा २०० भन्दा बढी व्यावसायिक स्टल राखिएका छन् । ती स्टलहरूमा स्थानीय उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला, गार्मेन्ट, खाद्य सामग्री, सूचना प्रविधि, पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री तथा सेवाहरू प्रदर्शन र बिक्रीका लागि राखिएको छ ।

‘हाम्रो उद्देश्य स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउनु हो,’ संयोजक शाहले भने, ‘महोत्सवमार्फत साना उद्यमी र स्टार्टअपहरूलाई आफ्नो उत्पादन चिनाउने अवसर मिलेको छ ।’ उनका अनुसार दर्शकको सहभागिता अपेक्षा गरिएकोभन्दा बढी रहेको र धेरै स्टलधनीहरूले सन्तोषजनक व्यापार भएको प्रतिक्रिया दिएका छन् ।

महोत्सव केवल व्यापारिक गतिविधिमा सीमित नभई नेपाली कला, संस्कृति र मनोरञ्जनको संगम बनेको छ । संघका महासचिव दुर्गाराज श्रेष्ठका अनुसार महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति, लाइभ म्युजिक, नृत्य तथा विविध मनोरञ्जनात्मक कार्यक्रमले पनि दर्शकलाई आकर्षित गरिरहेको छ । ‘प्रथम पटक आयोजना गरिएको महोत्सवमा दर्शकको आकर्षण देखिनु हाम्रो लागि उत्साहजनक हो,’ महासचिव श्रेष्ठले भने, ‘हरेक दिन बिहानैदेखि दर्शकको उपस्थिति उल्लेखनीय देखिएको छ ।’

महोत्सव सह–संयोजक तेन्जिङ शेर्पाका अनुसार काठमाडौं महोत्सव नेपाली कला र संस्कृतिको जगेर्ना र प्रवद्र्धनको प्रमुख स्थलका रूपमा स्थापित हुँदै गएको छ । ‘हामीले सांस्कृतिक झाँकी, परम्परागत नृत्य, लोकसंगीतदेखि आधुनिक प्रस्तुतीसम्म समेटेका छौँ,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई आफ्नो संस्कृति चिन्न र गर्व गर्न सहयोग पु¥याएको छ ।’

महोत्सव अवधिभर सांस्कृतिक झाँकी, लाइभ म्युजिक, चर्चित कलाकारहरूको कन्सर्ट, फेसन शो, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल लगायतका कार्यक्रम सञ्चालन गरिएका छन्, जसले दर्शकलाई मनोरञ्जनसँगै नेपाली मौलिकतासँग जोडेको छ ।

पहिलो पटक आयोजना गरिएको भएपनि महोत्सवले प्राप्त गरेको सकारात्मक प्रतिक्रिया, दर्शकको उत्साहजनक सहभागिता र व्यावसायिक सफलताले आगामी दिनमा काठमाडौँ महोत्सवले निरन्तरता पाउने निश्चित भएको छ । महासचिव श्रेष्ठका अनुसार यस पटक छोटो समयको तयारीबीच महोत्सव आयोजना भएको हो । आगामी वर्षमा अझै परिस्कृत र भव्य महोत्सव आयोजना हुने उनले बताए ।

आयोजकका अनुसार यस महोत्सवले स्थानीय उत्पादन र उद्यमशीलताको प्रवद्र्धन मात्र होइन, काठमाडौँलाई आर्थिक, सांस्कृतिक र पर्यटनको केन्द्रका रूपमा थप मजबुत बनाउने आधार तयार गरेको छ ।

काठमाडौँ महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.को सहआयोजनामा बुधबार महोत्सव सुरु भएको हो ।

शुक्रबार तेस्रो दिनसम्म करिब ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेको संयोजक उज्ज्वल जंग शाहले जानकारी दिए । उनका अनुसार शुक्रबार मात्रै ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

You might also like

Comments are closed.