प्रथम काठमाडौं महोत्सव सम्पन्न : चार दिनमा एक लाख दर्शकले गरे अवलोकन

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा सञ्चालित ‘प्रथम काठमाडौं महोत्सव’ शनिबार सम्पन्न भएको छ । भृकुटीमण्डपमा चार दिनसम्म चलेको उक्त मेलामा अवलोकनकर्ताहरूको उपस्थिति उत्साहजनक रहेको आयोजकले जनाएको छ ।

महोत्सवका संयोजक एवं संघका मेला समिति सभापति उज्ज्वल जंग शाहका अनुसार चार दिनको अवधिमा करिब एक लाख दर्शकले महोत्सवको अवलोकन गरेका छन् । ‘दर्शकको यो स्तरको उपस्थितिले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ,’ मेला सम्पन्न भएसँगै शाहले प्रतिक्रिया दिए ।

महोत्सवमा सानादेखि ठूला उद्योगका उत्पादनहरू समेटिएका २०० भन्दा बढी स्टलहरू राखिएका थिए । स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्ने उद्देश्यले आयोजित यस मेलामा उपभोक्ता र व्यवसायीबीच प्रत्यक्ष संवाद हुने वातावरण बनेको थियो ।

समापनका अवसरमा संघका अध्यक्ष दिनेश श्रेष्ठले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने प्रदर्शक, प्रायोजक र सम्पूर्ण अवलोकनकर्ताप्रति आभार व्यक्त गरेका छन् । उनले यस्ता मेलाले राजधानीको आर्थिक चलायमानतामा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

पहिलो प्रयासमै प्राप्त सफलताले आफूहरुलाई उत्साह मिलेको आयोजकको भनाइ छ । आगामी वर्ष अझ परिष्कृत रूपमा मेलालाई निरन्तरता दिने उनीहरुको प्रतिबद्धता छ । संघका महासचिव दुर्गाराज श्रेष्ठले प्रथम महोत्सवको सिकाईलाई मध्यनजर गर्दै आगामी दिनमा थप परिमार्जनसहित दोस्रो काठमाडौं महोत्सवको तयारीमा संघ अहिलेदेखि नै जुट्ने बताए ।

You might also like

Comments are closed.