काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएको भन्दै विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारप्रति नेपाल एलपी ग्यास उद्योग संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा भारतका विभिन्न रिफाइनरीबाट नेपालका लागि एलपी ग्यास आयात हुने गरेको उल्लेख गर्दै विगत केही समय रिफाइनरीहरूको मर्मत कार्य तथा ढुवानीसम्बन्धी कारणले बजारमा केही दिन एलपी ग्यासको आपूर्ति प्रभावित भएको स्वीकार गरेको छ ।
तर हाल प्रत्येक उद्योगले आवश्यक परिमाणअनुसार एलपी ग्यास आयात गरी नियमित रूपमा बजारमा वितरण गरिरहेको र नेपाल आयल निगमले समेत थप आयातका लागि अनुमति दिइसकेको हुँदा अब बजारमा ग्यासको अभाव नहुने संघले स्पष्ट पारेको छ ।
संघका अनुसार आवश्यकता अनुसार ग्यास आयात भई उपभोक्तासम्म पुर्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ र हाल देखिएको समस्या क्रमशः समाधान हुँदै गइरहेको छ। यसै सन्दर्भमा संघले उपभोक्तालाई ग्यास अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।
एलपी ग्यासजस्तो अत्यावश्यक उपभोग्य वस्तु सबै उपभोक्तासम्म सहज रूपमा उपलब्ध गराउन संघ प्रतिबद्ध रहेको उल्लेख गर्दै यस कठिन समयमा उपभोक्ताबाट प्राप्त सहयोग र साथप्रति संघले ज्ञापन गरेको छ।




Comments are closed.