काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा सुनचाँदी व्यवसायीहरूका लागि आयोजित ‘प्रादेशिक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’ काठमाडौंमा सम्पन्न भएको छ ।
सुनचाँदी आभुषण व्यवसाय सञ्चालनका क्रममा आइपर्ने नीतिगत अस्पष्टता, विद्यमान कानुन, प्रक्रियागत ज्ञान र व्यवसायीको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । महासंघ बागमती प्रदेशको व्यवस्थापन तथा विभिन्न संघहरुको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाँले गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले सुनचाँदी व्यवसायीका समस्या र गुनासाहरूप्रति प्रदेश सरकार गम्भीर रहेको बताए । ‘व्यवसायीहरूका न्यायोचित माग र समस्या समाधानका लागि प्रदेश सरकार सधैं साथ र सहयोगमा रहनेछ,’ उनले भने ।
कार्यक्रममा व्यवसायीहरूलाई विभिन्न सरकारी निकायका प्रतिनिधि तथा विज्ञहरूले प्रशिक्षण दिएका थिए ।

आन्तरिक राजस्व कार्यालयबाट कर प्रणाली र राजस्व सम्बन्धी जानकारी, गुणस्तर तथा नापतौल कार्यालयबाट मापदण्ड र गुणस्तर सुनिश्चितताबारे जानकारी, सम्पत्ति शुद्धीकरणबाट कानुनी प्रावधान र पालना गर्नुपर्ने सर्तहरूका बारेमा व्यवसायीलाई प्रशिक्षण प्रदान गरिएको थियो । व्यावसायिक सुरक्षा र कानुनी जटिलताको समाधान, व्यवस्थित लेखा प्रणाली र पारदर्शिताका सन्दर्भमा पनि छलफल गरिएको महासंघका महासचिव निर बहादुर विश्वकर्मा (बिमल धमला)ले जानकारी दिए ।




Comments are closed.