चितवन। अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा जारी ” विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता एवं सुर्योदय डेरीद्वारा दुध जन्य बस्तु पुरस्कार स्वरुप वितरण ” देशमा दुग्ध उत्पादन, दुग्ध व्यवसाय तथा व्यावसायिकतामा संलग्न किसानहरूलाई प्रोत्साहन गर्ने, दूधबाट हुने औद्योगिक उत्पादनको सम्भावनालाई प्रवर्द्धन गर्ने तथा डेरीजन्य उद्यमशीलताको दिगो विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा सञ्चालन भइरहेको छ।
“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डको प्रवर्द्धन तथा नेपाल डेरी एसोसिएसन लगायतका संस्थाको सहयोगमा चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा मिति २०८२ माघ २५ गतेदेखि २८ गतेसम्म एक्स्पो आयोजना गरिएको हो ।
एक्स्पोको उद्घाटन माघ २५ गते नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास)को उपस्थितिमा सम्पन्न भएको थियो । एक्स्पो अवधिभर विभिन्न प्रविधि अवलोकन, औद्योगिक उपकरण प्रदर्शनी, तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
यसैक्रममा माघ २६ गते विद्यार्थीहरूबीच “मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताले बालबालिकाबीच दूध तथा दुग्ध पदार्थको महत्वबारे ज्ञान अभिवृद्धि हुनुका साथै उनीहरूमा थप उत्साह र चासो बढाएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई आयोजकको तर्फबाट पुरस्कारको व्यवस्था गरिएको थियो । साथै नेपाल डेरी एसोसिएसनको तर्फबाट विराटनगरस्थित सूर्योदय डेरी उद्योगको सहयोगमा विजयी विद्यार्थीहरूलाई घ्यू, लस्सी तथा धुलो दूध पुरस्कार स्वरूप प्रदान गरिएको थियो । पुरस्कार वितरण डेरीका निर्देशक अनुज यादवले गर्नुभएको थियो । आयोजकका अनुसार अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ ले दुग्ध क्षेत्रका किसान, उद्यमी, विद्यार्थी तथा सरोकारवालाबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदानको महत्वपूर्ण मञ्चको रूपमा काम गरिरहेको छ ।




Comments are closed.